बिर्तामोड । रसुवामा हालै आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धार, राहत तथा भौतिक पूर्वाधार पुनर्निर्माणका लागि धिताल समूहले नेपाल सरकारलाई रु. १,११,११,१११ (एक करोड एघार लाख एघार हजार एक सय एघार) सहयोग हस्तान्तरण गरेको छ।

झापा बिर्तामोडस्थित होटल किङ्सबेरी, धुलाबारीस्थित क्यासिनो भेगास, भैरहवास्थित क्यासिनो टाइगर प्यालेस र बिर्तामोडस्थित क्यासिनो सेभेन हर्सेसका अध्यक्ष श्री रवि शर्मा धितालले भाद्र १६ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उक्त रकमको चेक नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको हो।

गत भाद्र १० गते रसुवामा अचानक आएको अभूतपूर्व बाढीका कारण सडक, जलविद्युत् आयोजना, स्थानीय बजार र जनधनको ठूलो क्षति भएको छ। उक्त दुर्दान्त घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनुका साथै ठूलो भौतिक क्षति भएको सन्दर्भमा नेपाल सरकारले राहत तथा पुनर्निर्माणका लागि सहयोगको आह्वान गरेको थियो।

रकम हस्तान्तरणपश्चात् पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष धितालले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। “यो प्राकृतिक विपद्को घडीमा मानवीय नाताले सरकारको राहत प्रयासमा साथ दिनु हामी सबैको कर्तव्य हो,” उहाँले भन्नुभयो।

अध्यक्ष धितालले देशका अन्य उद्योगपति, व्यवसायी तथा सर्वसाधारणलाई पनि आफ्नो क्षमताअनुसार सरकारी कोषमा सहयोग गर्न आह्वान गर्नुभएको छ।