झापाको बिर्तामोड–३ मा अवस्थित लिंकन मन्टेस्वरी स्कुलले अभिभावक दिवसको अवसरमा अभिभावकहरूका लागि एकदिने क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । 

बालबालिकाको शैक्षिक तथा सर्वाङ्गीण विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुने भएकाले अभिभावकलाई बालबालिकाको शिक्षा, पालनपोषण, व्यवहार तथा सकारात्मक सिकाइ वातावरण निर्माणका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले  जनाएको छ । 

बिर्तामोड नगरपालिका शिक्षा शाखाकी अधिकृत लासाङ तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम समपन्न भएको थियो । उनले बालबालिकाको भविष्य निर्माणमा विद्यालयसँगै अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।  

7ecff077-e835-47c0-9db7-90014964f93c

विद्यालय र अभिभावकबीच निरन्तर सहकार्य र समन्वय भएमा बालबालिकाको सिकाइ तथा व्यक्तित्व विकास अझ प्रभावकारी हुने उनले बताइन  । कार्यक्रममा आदर्श स्कुल अफ होटल मेनेजमेन्टका प्रधानाध्यापक सञ्जोक खरेल, अपरेसन हेड अनुसा ढकाल खरेल, झापा जिल्ला प्याब्सनका सदस्य देवेन्द्र हुमागाईं, सचिव दीपाङ्कर मैनाली तथा सहसचिव पुण्य उप्रेतीलगायतको उपस्थिति रहेको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सञ्चालक सरोज पौडेल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा प्रशिक्षकद्वय पुष्पाञ्जली सिन्हा र कमला भट्टराईले अभिभावकलाई प्रशिक्षण प्रदान गरेका थिए । 

प्रशिक्षणका क्रममा बालबालिकाको व्यवहार, सिकाइ प्रक्रिया, अभिभावकको भूमिका तथा घरमा सकारात्मक वातावरण निर्माण गर्नेलगायतका विषयमा जानकारी गराइएको थियो । 

विद्यालयका सञ्चालक सरोज पौडेलले अभिभावक दिवसलाई विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ मजबुत बनाउने अवसरका रूपमा लिइएको बताए ।  उनले बालबालिकालाई गुणस्तरीय शिक्षा र संस्कार दिन विद्यालय र घर दुवैको वातावरण सकारात्मक हुनुपर्ने उल्लेख गर्दै अभिभावकको सक्रिय सहभागिता आवश्यक रहेको बताए । 

यसै अवसरमा विद्यालयले श्रीकृष्ण जन्माष्टमीसमेत विविध सांस्कृतिक गतिविधिसहित मनाएको थियो । जन्माष्टमीको अवसरमा विद्यार्थीहरूलाई भगवान् श्रीकृष्णको पहिरनमा सजाएर कार्यक्रममा सहभागी गराइएको थियो । कृष्णको पहिरनमा सजिएका बालबालिकाले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । कार्यक्रममा नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।