भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि लायन्स इन्टरनेशनलले सहयोग उपलब्ध गराएको छ। बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन संस्थाले विभिन्न चरणमा आर्थिकसहित आवश्यक अन्य सहयोग प्रदान गरेको हो।

लायन्स इन्टरनेशनलले बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत तथा उद्धारका कार्यमा सहयोग पुर्‍याउँदै आएको जनाएको छ। संस्थाको सहयोगले विपद्मा परेका प्रभावित परिवारलाई राहत उपलब्ध गराउन तथा उद्धार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको बताइएको छ।

लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ सी अन्तर्गतका १४ वटा डिस्ट्रिक्टबाट सहयोग संकलन अभियान सञ्चालन गरी रु ६ लाख ७० हजार संकलन गरिएको र सबै डिस्ट्रिक्टको जम्मा गरी रु १ करोड १ लाख १ हजार १ सय ११ आर्थिक सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको डिस्ट्रिक गर्भनर लिला चिमरियाले जानकारी दिए । 

यहि क्रममा आज बिहिबार डिस्ट्रिक्ट ३२५ सीले आह्वान गरेको सहयोग अभियानअन्तर्गत छ दिनभित्र संकलित रु १६ लाख ११ हजार डिस्ट्रिक्ट ३२५ सीको डिजास्टर फन्ड खातामा जम्मा गर्नेगरी जिल्ला प्रसाशन कार्यालय मार्फत सहयोग प्रदान गरिएको छ ।  झापाका निमित्त प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोखरेललाई डिस्ट्रिक गर्भनर लिला चिमरियाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।  उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने छ ।

बाढी प्रभावित क्षेत्र तथा आसपासका जिल्लाहरूमा लायन्सका विभिन्न डिस्ट्रिक्टमार्फत नियमित रूपमा राहत सामग्री वितरण भइरहेको पनि उनले बताए ।  प्रभावित विभिन्न स्थानमा स्थापना गरिएका होल्डिङ सेन्टरमा विस्थापित परिवारलाई आवास, खाद्यान्नलगायतका सेवा–सुविधा उपलब्ध गराउँदै आएको पनि लायन्सले जनाएको छ।

यसैगरी, तत्काल राहत व्यवस्थापन तथा पुनःस्थापनाका लागि लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनबाट २ लाख अमेरिकी डलरको विपद्प्रतिकार्य अनुदानसमेत उपलब्ध भएको जनाइएको छ।

देशभरका लायन्स क्लब तथा लायन सदस्यहरूले स्वस्फूर्त रूपमा आर्थिक सहयोग संकलन गरी आ–आफ्नो डिस्ट्रिक्टमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने कार्य जारी राखेका छन्।

लायन्स इन्टरनेशनलले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा आफ्नो सहयोगलाई निरन्तरता दिने जनाएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा साहायक जिल्ला अधिकारी सहदेव रायमाझी, फस्ट भाइस डिस्ट्रिक गर्भनर रमेश खत्री,पास्ट डिस्ट्रिक गर्भनरहरु लिला प्रसाद ढुङ्गेल,रमेश खत्री, विकास अधिकारी, धिरज गुरुङ, शैलेन्द्र कुरुम्वागं लगायत लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो ।