बुट्टावारी ।
नेपाल दशनामी समाज अर्जुनधारा नगरपालिका–११ बचत कार्यक्रमको पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः राधेश्याम गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । बिहीवार अर्जुनधारा–११ मा भएको अधिवेशनले राधेश्याम गिरीको नेतृत्वमा सात सदस्यीय बचत समुहको नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विष्णुप्रसाद गिरी, सचिवमा सुनिता गिरी भारती, कोषाध्यक्षमा लक्ष्मी भारती सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा टंकप्रसाद गिरी, तुलसा घिमिरे गिरी र बिनिता गिरी सर्वसम्मत चयन भएका छन् ।
उद्धव पुरीको संयोजकत्वमा गठित निर्वाचन मण्डलीमा शारदा गिरी र प्रेमबहादुर पुरी सदस्य रहेका थिए । निर्वाचन समितिले समुहको पदाधिकारी तथा कार्य समिति सदस्य सर्वसम्मत निर्वाचित गरेको थियो ।
बचत कार्यक्रमका अध्यक्ष राधेश्याम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाजका कोशी प्रदेश निवर्तमान अध्यक्ष तथा ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाका सचिव चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बचत कार्यक्रमको तर्फबाट अध्यक्षको सांगाठानिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन अध्यक्ष राधेश्याम गिरीले प्रस्तुत गरेका थिए । ३४ जना सदस्य रहेको बचत कार्यक्रममा दशनामी बन्धुहरुमा पर्ने दुःख सुखमा साथ र सहयोग गर्दै आएको बताइएको छ ।
गत २०७९ सालमा भएको साधारणसभामा १८ लाख ६७ हजार १७५ रुपैयाँ बचत समुह कार्यक्रम मध्ये सदस्यहरुलाई जनही २८ हजार ८६३ रुपैयाँका दरले बोनस बितरण गरिएको अध्यक्ष राधेश्याम गिरीले जानकारी दिए । २०७९ सालपछि एक लाख ७० हजार रुपैयाँ सदस्यहरुले बचत गरेका र हाल उक्त रकम ६ लाख ६७ हजार १७५ रुपैयाँ भएको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
सोही कार्यक्रमका बिच तीन जनालाई सम्मानसमेत गरिएको थियो । नेपाल दशनामी समाज कोशी प्रदेश महिला उपाध्यक्ष शारदा गिरी, रवीलाल भारती र सरस्वती भारतीलाई सम्मान गरिएको थियो । सम्मानीत व्ययक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि चन्द्र, अध्यक्ष राधेश्यामले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि चन्द्रप्रसाद गिरी, दशनामी क्षेत्रिय अध्यक्ष सूर्यप्रसाद गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए भने अध्यक्ष राधेश्यामले बचत समुहलाई अझ ससक्त बनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।










































