झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो इकाइगत साधारणसभा समापन भएको छ । संस्थाको १४ औं साधारणसभा अन्तरगत आज बिहिबार बिर्तामोडमा अन्तिम चौंथो इकाइगत साधारणसभा समापन भएको हो । आज बिर्तामोड, बुट्टाबारी, गरामनी, चारपाने चेतुबारीलाई इकाइ ४ बनाएर गरिएको इकाइगत साधारणसभामा उत्कृष्ट कर्मचारीको रुपमा धुलाबारी सेवा केन्द्रकी सिता पौडेललाई नगद सहित सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षता एवम् सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बूको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका कर्मचारीका छोराछोरीमध्ये प्लस टु परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने अंशकुमार खतिवडालाई पनि सम्मान गरिएको छ। त्यस्तै शिक्षा बचत राशिका खतिवडा, असल ऋणी सबिता राजवंशी, आवधिक बचत संगिताकुमारी थापालाई नगद सहित सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०८२ र ०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी ३ करोड ५१ लाख ७४ हजार १ सय, कोष हिसाब २ करोड ३७ लाख ५ हजार ४ सय, बचत संकलन २२ करोड ५१ लख २५ हजार ५४८, लगानीमा रहिरहेको रकम १७ करोड ६१ लाख ७८ हजार ३४४ रहेको जानकारी दिए ।
संस्थाले चालू आर्थिक वर्ष २०८३÷०८४ मा बचत संकलन २५ करोड र ऋण लगानी २० करो ६० लाख ७५ हजार पु¥याउने र ६१२ जना सदस्य वृद्धि गर्ने लक्ष्य लिएको छ ।
इकाइगत सभामा लेखा समिति संयोजक सूर्यकुमार खतिवडाले लेखा समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । उनले शेयर पूँजी र बचत संकलन अघिल्लो वर्षको तुलनमा बृद्धि हुँदै गएकाले संस्था थप मजबुद हुँदै गएको बताए ।
आगामी दिनमा संस्थाले आफ्ना सदस्यहरूको आवश्यकता र अपेक्षालाई अझ नजिकबाट बुझ्दै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने, सदस्यहरूको आर्थिक क्षमता अभिवृद्धिमा सहयोग गर्ने, वित्तीय अनुशासनलाई अझ मजबुत बनाउने तथा सहकारीको मूल भावना र सिद्धान्तअनुरूप सेवा प्रवाहलाई प्रभावकारी बनाउने उनले बताए ।
कार्यक्रममा ऋण उपसमिति संयोजक एवम् संस्थाका उपाध्यक्ष हेमराज मिश्रले संस्थाले ६९२ जना ऋणि सदस्यलाई १८ करोड ४७ लाख २५ हजार ९५६ रुपैयाँ ऋण लगानी गरेको जानकारी दिए । जसबाट २ करोड २६ लाख ५९ हजार ९६८ रुपैयाँ ब्याज आम्दानी भएको उनले बताए ।
त्यस्तै आज संस्थाले स्थापना दिवस समेत मनाएको छ । संस्था आजबाट १५ औं बर्षमा पुगेको छ । संस्थाले स्थापना दिवसको अवसर पारेर रसुवा भोटेकोशी खोलामा आएको बाढीका कारण भएको क्षत्ती तथा राहत, तथा पुःनस्थापनकालागि ५१ हजार दिने घोषणा गरेको छ। सरकारको प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरिने संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । उनले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत उक्त रकम सहयोग गर्न लागिएको जानकारी दिए ।
संस्थाका उपाध्यक्ष हेमराज मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव युवराज निरौलाले गरेका थिए । कार्यक्रममा सञ्चालक समिति सदस्य चिजा राई, तारादेवी गौतम, रुपा कोइराला, लक्ष्मीप्रसाद घिमिरे, अशोक गिरी, रोहित काफ्ले, लेखा समिति सदस्य लक्ष्मी देवान, संस्थाका व्यवस्थापक तीर्थ तिम्सिना, कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाको अन्तिम माइन्युट प्रमाणीकरण यहि ३१ गते संस्थाको सभाहलमा हुने जनाइएको छ ।










































