साधुटार  : झापाको अर्जुनधारा –१ साधुटारस्थित श्री शंकराचार्यपीठ  वेद वेदाङ्ग संस्कृत पाठाशाला तथा सिद्धेश्वरी कामदा गौशालामा बनेको भवनको उद्घाटन उप–प्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङदेनले गर्ने भएका छन् । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत बनेको उक्त भवनको मन्त्री लिङदेनले आगामी माघ ९ गते गर्ने कार्यक्रम तय भएको शंकराचार्यपीठका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४५ लाख रुपैयाँमा बनेको २ तले, ४ कोठे भवन निमार्ण भएको छ ।  त्यस्तै श्री शंकराचार्यपीठ घोषणा भएको २५ औं वर्ष तथा रजत जयन्तीको अवसर पारेर आद्य जगत्गुरु शंकराचार्यको मूर्तिसहित रजत स्तम्भ निर्माण गरिएको र उक्त रजतस्तम्भको आगामी माघ ९ गते सोमबार अनावरण गरिनेसमेत कार्यक्रम रहेको उनले बताए ।

शंकराचार्यपीठमा स्थापनाको ४७ औं बार्षिकोत्सव तथा श्री शंकराचार्यपीठ घोषणाको २५ औ बर्ष ‘रजत जयन्ती’ को अवसर पारेर गत माघ १ गतेदेखि श्रीमद् ब्रह्मावैवर्त महापुराण पाठ कथा प्रवचन गायत्री लक्ष्यहवनात्मक एकादशाह विराट गोपाल महायज्ञ भइरहेको छ । 

आगामी माघ ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा  आचार्य शीतलकृष्णजी महाराजको प्रमुख कथाब्यास,  पं. सोमनाथ खतिवडाको उपब्यास  र यज्ञाचार्य हाकिमप्रसाद भण्डारीको रहेको छ । 

आध्यात्मिक जागरण मानव सचेतना, दैनिक  रु. १ दान एघार करोडको अक्षयकोष स्थापना महाअभियान बिस्तार, गुरुकूलमा अध्ययनरत बटुकहरुका लागि भोजनाच्छादान ब्यवस्था, गौशाला सुदृढ ब्यवस्थापनका लागि पुनर्निर्माण, नियमित गौआहाराको ब्यवस्था र संस्थाको सर्वाङ्गीण विकासको उदेश्यले महायज्ञको  आयोजना गरिएको ब्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाको भनाई छ ।