कन्काई : समाजसेवी शेरबहादुर थापा तथा कन्काई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ । 

कन्काई –९ स्थित घैलाडुब्बामा रहेको कोच संग्रहालय भवनमा आज शनिबार भएको  राजवंशी समुदायको धर्म संस्कार सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलनमा समाजसेवी थापा तथा प्रमुख प्रशासकिय अधिकृत न्यौपानेलाई सम्मान गरिएको हो ।  

राजवंशी समाज विकास समिती केन्द्रको आयोजनामा भएको सम्मेलनमा कोभिड हिरो नामले परिचित थापा तथा नगरको कार्य सम्मापदनमा उल्लेखिय कार्य गरेको भन्दै प्रशासकिय अधिकृत न्यौपानेलाई सम्मान गरिएको संस्थाका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । 

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका हुन् । 

सम्मानित थापा कन्काईबासी हुन् । कोभिडको समयमा हजारौं नागरिकलाई राहात, कोभिड संक्रमित तथा उनको परिवारलाई पोषिलो खानेकुरा वितरण  र समाज रुपान्तरणमा अतुलनिय सहयोग गरेको भन्दै थापालाई सम्मान गरिएको अध्यक्ष राजवंशीले बताए । 

त्यस्तै राजवंशी भाषा, धर्म र संस्कृति जोगाउन र संरक्षण गर्न नगरले सहयोग गरेको भन्दै प्रशासकिय अधिकृत न्यौपानेलाई सम्मान गरिएको उनको भनाई छ । 

संस्थाका उपाध्यक्ष बद्रीनारायण राजवंशीको अध्यक्षता भएको कार्यक्रममा स्वागत सहित औचित्माथि केन्द्रीय अध्यक्ष अभय राजवंशीले प्रकाश पारेका थिए । 

 उनले राजवंशी समाजका धार्मिक तथा साँस्कृतिक मूल्य र मान्यताहरु जीवित राख्ने मुख्य धरोहरका रुपमा रहेका समाजका गुरुगसाई,किर्तिनिया,गाइन ठाकुरहरुको प्रथम राष्ट्रिय सम्मेलन आयोजना गरिएको बताए । 

आधुनिक विज्ञान र राजवंशीय हिन्दु धार्मिक मूल्य मान्यता बिचको अन्तरसम्बन्ध खोजिनु पर्ने आजको अपरिहार्य आवस्यकतालाई बुझ्ने प्रयासका लागि सम्मेलनको आयोजना गरिएको बताउँदै  उनले माँ कामाख्या देवीको अनुकम्पाले टिष्टा देखि कोशी सम्मको भुगोल भित्र

बसोबास गर्ने राजवंशी समुदायका पूर्वजहरुबाट पुस्तान्तरित हज्जारौं वर्ष देखि प्रयोग हुँदै आएका मन्त्रहरुको अतुलनीय र अविश्वसनीय शक्तिलाई विज्ञान सँग जोड्न सक्ने सामर्थ्य राख्न जरुरी भएको बताए । 

 अध्येता दर्पण राजवंशी लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा अरुणेदय इङलिस स्कूल घैलाडुव्वाका विद्यार्थीहरुले संस्कृति झल्कने विभिन्न जातीय नृत्य प्रस्तुत गरेका थिए । 

 सम्मेलनले नेपाल आदिवासी राजवंशी धर्म संस्कार समितीको गठन गर्नुका साथै राजवंशी धर्म संस्कार सम्बन्धि साझा घोषणापत्र जारी गर्ने जनाएको छ । 

कार्यक्रममा कन्काई नगरका नगर प्रमुख राजेन्द्र पोखरेल लगायतले शुभकामना मनतब्य राखेका थिए ।