नेपाल हिन्दूराष्ट पुर्नस्थापना मञ्चका अन्तरष्ट्रिय अध्यक्ष डा. विष्णुप्रसाद बरालले नेपालमा विदेशी हस्तक्षेत्र बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । उनले नेपाललाई विदेशीको हस्तक्षेपबाट मुक्त गराउन नसके देश दुर्घटनामा पर्ने बताए । 

नेपाल हिन्दूराष्ट पुर्नस्थापना मञ्चले झापाको बिर्तामोडमा आज आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष बरालले सो कुरा बताएका हुन् । 

उनले  नेपाल हिन्दूराज्य नभएसंम विदेशीले धर्मका नाममा चलखेल गरिरहने र अस्थिरता निमत्याउने बताउंदै नेपाललाई हिन्दूराज्य बनाउन आवश्यक भएको बताए । 


देशी विदेशी प्रतिक्रियाबादीले बिभिन्न वाहानामा नेपाल र नेपालीको स्वाधीनतामाथि हस्तक्षेप गरेको भन्दै उनले त्यस्तो नगर्न सुझाब दिएका छन् । 

विश्व मानव अधिकार संरक्षण आयोगको अन्तराष्ट्रिय उपाध्यक्ष समेत रहेका डा. वरालले मुलुकलाई अस्थिरता तर्फ धकेलिरहने विदेशीको हस्तक्षेप अमान्य हुने बताएका हुन् । 

नागरिकता विधेयक, एमसीसी जस्ता परियोजनाले नेपालको भलो नहुने भन्दै उनले त्यस्ता परियोजनाले मुलुकको हित नहुने बताए ।  

नेपालीलाई स्वदेशमा आत्मनिर्भर बन्न नदिन विदेशी शक्तिहरु लगि परेको उनको आरोप छ । उनले युवालाई रोजगारीका नाममा अन्यन्त्र पठाएर विदेशी नागरिकले नेपालमा शासन जमाउन खोजिरहेको आरोप लगाए । 

कार्यक्रममा  नेपाल हिन्दूराष्ट पुर्नस्थापना मञ्चका भारत अध्यक्ष दीपमाला तामाङ, मञ्चको नेपालको युवा  अध्यक्ष अभय राजवंशी, नेपाल हिन्दूराष्ट पुर्नस्थापन मञ्च भारत स्थित आछाम अध्यक्ष प्रनम ज्योति राजवंशी लगायतले आ– आफ्नो विचार राखेका थिए ।