चारआली : झापाको मेचीनगर–१३ चारआली स्थित पाउ पाथीभरा धाममा चैत ८ गतेदेखि १६ गतेसम्म भागवत पुराण हुने भएको छ । आज शुक्रबार धाम परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै  भागवत पुराणको तयारी तीव्र बनाइएको आयोजकले जनाएको हो । 

पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले पुराणको तयारी तीव्र पारिएको बताए । जसकालागि विभिन्न १४ वटा समिति गठन गरिएको छ । आयोजक समितिका अध्यक्ष गिरीका अनुसार पुराणमा पण्डितं शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्व रहने छ ।

पुराणको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने बताइएको छ । साथै कार्यक्रममा झापा क्षेत्र नं. १ का प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माको पनि उपस्थिती रहने जनाइएको छ । 

पुराणमा नेपालका विभिन्न जिल्लाका साथै भारतका बिभिन्न राज्यबाट गरी करिब ३० हजार बढी भक्तजन आउने अपेक्षा गरिएको पुराण प्रचार–प्रसार समितिका संयोजक यामनाथ बरालले जानकारी दिए । 

पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबद्र्धन समिति गठनताका नै धाममा १८ वटा पुराण लगाउने निर्णयानुसार छैठौ पटक भागवत् पुराण आयोजना गर्न लागिएको पनि उनले जानकारी दिए । 

धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न र पाथीभरा देवीको महिमाको प्रचार  र त्यसको आधारमा पाउ पाथीभरा धामलाई प्रमुख धार्मिक गन्तव्य बनाई यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्ने उदेश्यका साथ पुराणको आयोजना गरिएको बताइएको छ । 

कार्यक्रममा  समितिका सल्लाकार लोकराज ढकाल, अग्निदेव लुइँटेल, जगन भट्टराई, समितिका सचिव नवराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।