शिवसताक्षी  : झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा श्रीमद् भागवत महापुराण धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । गोपाल गौरी दिगो विकास प्रतिष्ठानको आयोजनामा यही बैशाख १६ देखि २३ गतेसम्म महायज्ञ हुने भएको हो ।

प्रतिष्ठानले महायज्ञको तयारी वारे आइतवार (आज) पत्रकार भेटघाट गरी जानकारी दिएको हो ।  गरिव, असहाय, अपाङ्ग दिदिबहिनीहरुको क्षमता अभिबृद्धि गरौं, जेष्ठ नागरिकहरुको सवैले सम्मान गरौं भन्ने अभिप्रायले स्थापना भएको प्रतिष्ठानले संस्थाको अक्षयकोष स्थापना तथा अपुरो भवन निर्माण सम्पन्न गर्ने उदेश्यले पुराणको आयोजना गरेको प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतमले जानकारी दिइन् ।

धार्मिक अनुष्ठानका माध्यमबाट समाजका बिकृति र बिसंगतिको समूल अन्त्यका लागि पनि महायज्ञले सघाउ पुर्याउने अध्यक्ष गौतमले बताइन् ।

संस्थाकी अध्यक्ष गौतमले श्रीमान तथा सवै सन्तान गुमाएपछि आफ्नो सम्पूर्ण सम्पत्ती प्रतिष्ठानलाई हस्तान्तरण गरेर संस्था स्थापना गरेकी हुन् । गौतमले सो प्रतिष्ठानमा हाल हिंसामा पेरका, दिनदुःखी, एकल महिला, असक्तलगायतलाई आश्रय दिदै त्यहिनै रोजगारी सिर्जना गरेकी छिन् । प्रतिष्ठानले हाल ढाकाको सारी, चुरापोते बनाउनेलगायतका तालिमसँगै धेरै दिदिबहिनीलाई रोजगारी दिदै आएको छ ।

 महायज्ञमा राधिका दासीको प्रमुख बाचन रहने छ भने उपबाचन मदनमोहन अधिकारी रहने आयोजक संस्थाले जानकारी दिएको छ । पुराण सम्पन्न गर्नका लागि बिभिन्न ८ वटा उप–समितिहरु निर्माण गरिएको आर्थिक उप–समितिका संयोजक पर्शुराम खरेलले जानकारी दिए । पुराणबाट ६० लाख रुपैयाँ संकलन गर्ने आयोजक समितिले लक्ष्य लिएको छ भने ३० लाख रुपैयाँ अनुमानित खर्च हुने जनाएको छ ।

महायज्ञमा गोलोक गोवर्धन गौशाला सताक्षीधाम झापाका संस्थापक तथा ब्यवस्थापक आचार्य श्री नन्दकिशोर भारद्धाजको सातैदिन उपस्थिति रहने छ भने 

श्री १०८ टहलकिशोरजी महाराजले महायज्ञको समुद्घाटन गर्ने तथा सहभागिलाई आशिवचन प्रदान गर्ने कार्यक्रम तय भएको जनाइएको छ । त्यस्तै १८ गते महायज्ञमा हेमानन्द गिरीको प्रमुख आतिथ्यता रहेने जनाइएको छ ।

साथै महायज्ञमा  प्रत्येक दिन बिभिन्न सामाजिक तथा धार्मिक ब्यक्तित्वहरुको पनि आतिथ्यता रहने जनाइएको छ ।   पत्रकार भेटघाटको सहजीकरण सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।