झापामा पहिलो पटक  ‘हेल्थ टुरिजम प्रोमोशन प्रोग्राम’ आयोजना हुने भएको छ ।   यहि असार १६ गते झापाको बिर्तामोड स्थित आर्दश ब्याङ्क्वेटमा कार्यक्रम गरिने जनाइएको छ । 

नेपाल पर्यटन बोर्डको आयोजना , बिर्तामोड नगरपालिकाको सहयोग तथा सहकार्य , नेपाल एशोसिएसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट्स कोशी प्रदेश नाट्टा र झापा जिल्ला होटल व्यवसायी संघको सह आयोजनामा ‘इस्ट नेपाल हेल्थ टुरीजम प्रमोशन प्रोगाम’ को आयोजना गरिएको नाट्टा कोशी प्रदेशका अध्यक्ष उदय श्रेष्ठले सोमबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।  

पूर्वि नेपाललाई मुख्य तय भारतीय सीमावर्ती बजारमा स्वास्थ्य पर्यटनको गन्तब्यको रुपमा प्रचार प्रसार गर्न , सीमावर्ती भारतीय शहरहरुका पर्यटन व्यवसायी तथा बिषयसंग सम्बन्धीत व्यवसायीलाई कार्यक्रममा आमन्त्रण गरी हेल्थ टुरीजमको क्षमता तथा सम्भावनाको बिषयमा आवश्यक प्रचार गर्न कार्यक्रमको आयोजना गरिएको नाट्टा कोशी प्रदेशका महासचिव नबिन खरेलले जानकारी दिए ।  

विशेष गरि बिर्तामोड क्षेत्र भित्रका सबै हस्पिटल, नेत्रालय, डेन्टल क्लिनिक  लगायत होटलहरु, पर्यटन सम्बद्ध कलेजहरु, बैङ्क, बित्तिय सस्थाहरुलाई आफ्नो सस्थाको प्रचार प्रसार गर्न र स्टल बुक गर्न समेत आग्रह र अनुरोध गरिएको नाट्टाका महासचिव खरेलले जानकारी दिए । साथै उनीहरुको व्यापार व्यवसायको प्रचार , प्रसार र प्रबद्धन गर्दै यस क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउन कार्यक्रमले सहयोग पुग्ने उनले बताए । 


पर्यटन व्यवसायीहरुले चिकित्सासेवा प्रदायकहरुसँग सहकार्य गरेर चिकित्सा पर्यटन प्याकेजहरु बनाउन सक्ने र आफ्नो नेटवर्कहरुमा प्रचार प्रसार गर्न सक्ने उनले बताए । 

यस कार्यक्रमले भारतीय बिरामीहरुलाई नेपालका अस्पतालमा उपचार गर्न आउने वाताबरण बन्ने जानकारी उनले दिए । 

उनका अनुसार स्टल बुक फ्रीमा उपलब्ध गराइने छ ।  साथै उनका अनुसार भारतका करिब ३० पर्यटन ब्यबसायीहरुको कार्यक्रममा उपस्थिती रहने छ । 

कार्यक्रममा होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेल, पर्यटन कार्यालय कांकरभिट्टाका सुचना अधिकारी निरज कट्टेल लगायतले यो कार्यक्रमले खच्किंदै गएको आर्थिक कारोबारलाई केहि सुधार ल्याउन सहयोग पुग्ने धारणा राखेका थिए ।