रुपन्देही । बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरिएको हो ।

हिन्दूहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएपछि झडप हुनसक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको हो । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने गतिविधि नगर्न आग्रह गरेको थियो ।

मंगलबार बिहान नेपालगञ्जमा सामाजिक सद्भावलाई प्रगाढ बनाउने उद्देश्यले विभिन्न धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू सहितको सहभागितामा सद्भाव र्‍याली निकालिएको थियो ।

नेपालगञ्जको वीपीचोकबाट निकालिएको सद्भाव र्‍याली धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा विभिन्न धर्माका अनुयायी, राजनीतिक कर्मी, नागरिक समाज सम्मिलित सद्भाव र्‍याली प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने उनको भनाइ छ । सो कोणसभामा नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूल पुरोहित चन्द्रनाथ योगी, मुस्लिम धर्म गुरु मौलाना जब्बार मञ्जरीलगायतले सम्बोधन गर्दै समाजमा भाइचारा कायम राख्न आग्रह गरेका थिए ।

नेपालगञ्जलमा मोहम्मद डेको दिन एक स्थानीयले सामाजिक सञ्जालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि नेपालगञ्ज अशान्त बन्दै आएको हो ।

उक्त अभिव्यक्तिले इस्लाम धर्ममा आस्था राख्नेहरूलाई चोट पुर्‍याएको भन्दै दुई दिनअघि नेपालगञ्जमा टायर बालेर उनीहरूले जिल्ला प्रशासनमा नारावाजी गरेका थिए । त्यसको प्रतिवादमा मंगलबार हिन्दू धर्ममा आस्था राख्नेहरूले प्रर्दशन गरेपछि समस्या बल्झिएको हो । दुई दिनदेखि सहरमा नारावाजी भइरहेको छ । स्थितिलाई सहज बनाउन सम्बद्ध सरोकारवालाहरू लागिपरेका छन् ।