काठमाडौँ । कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो । 

बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा तीन खोप थन्किएका छन् । चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ र १४ गते उक्त खोप आएको थियो । वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो । 

व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भएपछि खोपको म्याद सकिने थालेको बताए । उनले खोपको म्याद सकिन थालेकाले अब प्रयोग गर्न नसकिने बताए । “अहिले कोरोना भाइरसको महामारी पनि छैन । खोपको म्याद पनि सकिन थालेको छ । त्यसैले अव हामी प्रयोग गर्न सक्दैनौ”, उनले भने ।

खोपको म्याद यही पुस ७ गतेसम्म मात्र छ । उनले खोप त्यतिकै खेर जान थालेपछि उचित व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरिएको बताए । “हामीले दुई पटकसम्म खोप के गर्ने भनेर मन्त्रालयलाई पत्राचार गरिसक्यौँ”, उनले भने, “अब मन्त्रालयले जे गर्न निर्देशन दिन्छ । त्यही गर्दछाँै ।”

नेपालमा पहिलो र दोस्रो मात्रा खोप लगाउन मानिस नभएको र बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि ४० लाख खोप प्रयोगका लागि परराष्ट्र मन्त्रालयबाट कूटनीतिक पहल गरी अन्य देशमा पठाउन पठाउन अनुरोध भएको थियो । 

आपूर्ति व्यवस्थापन शाखाको प्रमुख डा सुरेन्द्र चौरसियाले विश्व स्वास्थ्य सङ्गठनले उक्त खोप बुस्टर डोजका लागि उपयुक्त नभएको भनेपछि खोप नलगाइको बताए । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले खेर जान थालेको खोपबारे अझै निर्णय नभएको बताए । उनले चीन बाहेक अन्य देशमा पठाउन नसके यही खोपलाई ‘डिस्पोजल’ गरिने बताए । अहिलेसम्म नेपालमा छ करोड ६९ लाख ८३ हजार दुई सय ७० मात्रा खोप आइसकेको छ ।