कनकाई नगरपालिका २ की ब्लड क्यान्सर पीडित ५ वर्षीय मञ्जिला भुजेलको उपचारमा आर्थिक समस्या भएको छ । उनको उपचारमा समस्या भएपछि सहयोग जुटाउन   साङ्गीतिक कार्यक्रम हुने भएको छ ।

अनुप्रस्थ फाउन्डेसन काठमाडौंको आयोजना र कन्काई मावि, कनकाई उद्योग वाणिज्य सङ्घ, ग्लोबल एडुकेयर एकाडेमी र शुरुवाती कोठा नेपालको सहआयोजनामा कार्यक्रम तय भएको बुधबार पत्रकार भेटघाटमा जनाइएको हो ।

अनुप्रस्थ ब्याण्ड, नामग्याल लामा ब्याण्ड, विश्वास उप्रेती ब्याण्डको प्रस्तुति रहनेछ भने भक्त विक, राजेश बस्नेत, अस्रफ डान्स सेन्टर लगायतका स्थानीय प्रस्तुति पनि रहने अनुप्रस्थ फाउन्डेसनका प्रतिनिधि एवम् कार्यक्रम संयोजक निश्चल खतिवडाले जानकारी दिए ।

महेन्द्र र चन्द्रकला भुजेलकी छोरी मञ्जिलाको उपचारका लागि ३० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । कन्काई माविको खेलमैदानमा आगामी मंसिर २३ गते शनिबार दिउँसो ३स्०० बजेदेखि हुने कन्सर्टमा प्रवेश शुल्क १ सय, २ सय र ५ सय राखिएको छ । शोबाट खर्च कटाएर २ लाख रुपैयाँ बचत गर्ने बताइएको छ ।

स्थानीय ग्लोबल एडुकेयर एकाडेमीमा एलकेजीमा अध्ययनरत मञ्जिलाको विगत अढाई महिनादेखि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । उनको पहिलो र दोस्रो चरणको उपचार सकिएको, तेस्रो र चौथो चरणको उपचार गर्नुपर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ ।