काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । आफूलाई ‘लिटिल बुद्ध’ बताउने बम्जनलाई सीआईबीले हिजो मंगलबार काठमाडौंको बूढानीलकण्ठस्थित हात्तीगौंडामा रहेको उनकै निवासबाट पक्राउ गरेको हो ।

प्रहरीले बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी रकम बरामद गरेको जनाएको छ । उनको साथबाट नेपाली रुपैयाँसहित विभिन्न १७ देशका मुद्रासमेत बरामद गरेको छ । जुन अहिले नेपाली बजारभाउअनुसार तीस लाख ९२ हजार रुपैयाँभन्दा बढी हुन आउँछ । साथै उनको साथबाट विभिन्न ब्रान्डका १४ वटा मोबाइल, दुईवटा ल्यापटपलगायत सामान पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार बम्जनले चारवटा फरक ब्रान्डका मोटरसाइकल प्रयोग गर्ने गर्थे । उनको साथबाट क्रस फायर, ३९० सीसीको केटीएम डुक, यामाहाको स्कुटरसहित ४ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । 

उनीमाथि सिन्धुली क्याम्पमा बलात्कार मुद्दा, मकवानपुरको एक र नुवाकोट किशोरीसहित ३ जनालाई बेपत्ता बनाएको मुद्दामा थियो । आश्रममा बस्ने अनुयायीको हत्या, बेपत्ता तथा यौन हिंसाको उजुरीपछि सीआईबी तथा कोशी र मधेश प्रदेश प्रहरीले उनको खोजी गरिरहेका थिए । प्रहरीले खोजी गरिरहे पनि उनी फरार थिए ।

उनले आफूलाई ुलिटिल बुद्धु बताउने गरेका थिए । उनीमाथि बलात्कार आरोपसमेत लागेको छ । बम्जन लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए । पछिल्लो समय भने उनले सिन्धुलीमा आश्रम बनाएर बसेका थिए । kantipurtv.com