झापा : झापामा विगत १२ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरुद्धको अभियानलाई यस वर्ष अन्तिम निष्कर्षमा पु¥याउने प्रतिबद्धता जनाइएको छ ।

विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवसको अवसरमा झापाको भद्रपुरमा सोमबार आयोजित सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा सहभागीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रमा प्रदेशसभा सदस्य छविलाल चुँडालले हात्तीपाइले रोगको निदानका लागि प्रदेश सभामा कुरा उठाउने बताए । 

औषधि सेवन दर कम भएको भद्रपुर नगरपालिकामा थप कार्ययोजनाका साथ अभियान चलाइने भद्रपुर नगरप्रमुख गणेश पोखरेलले प्रतिबद्धता जनाए ।  

यता, ४३ प्रतिशत औषधि सेवन दरलाई ७१ प्रतिशतमा पु¥याउन सफल शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहङ थोप्राले जनशक्ति अभावसँगै मानिसमा चेतनाको कमीले लक्ष्य अनुरुप काम गर्न नसकिएको बताउनुभयो ।

गत वर्ष एकीकृत रुपमा जनशक्ति परिचालन गरेर टोलटोलमा अभियान चलाएकाले औषधि सेवन दर बृद्धि गर्न सकिएको बताउँदै उनले  यो पटकको अभियानलाई निष्कर्ष पु¥याउने हरप्रयास गर्ने प्रतिबद्धता जनाए । 

जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काले रोग निदानका लागि औषधि सेवन गर्नुपर्नेमा जोड दिँदै अनुगमनलाई प्रभावकारी बनाउने उल्लेख गरिन । 

छलफल कार्यक्रममा स्वयम्सेविका सीता आचार्यले सरकारी कार्यालयका हाकिम र कर्मचारीहरुलाई औषधि सेवन गराउन सकस पर्ने गरेको बताइन् । विपन्न र गरिब बस्तीमा चेतना नभएकाले औषधि खाँदैनन् भन्छौं”, उनले भनिन  “जान्ने बुझ्ने र ठूलाबडालाई औषधि खुवाउन हम्मे–हम्मे पर्छ ।”

गत वर्ष जिल्लामा ७८ प्रतिशत मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए । 

स्वास्थ्य कार्यालय झापा र भद्रपुर नगरपालिकाको आयोजना तथा सहारा नेपालको विश्वास परियोजनाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । नेपालमा पाइने १० प्रकारका उष्ण उपेक्षित रोगहरुको निदानका लागि फेरमेडको आर्थिक सहयोगमा सहारा नेपालले विश्वास परियोजना सञ्चालन गरिरहेको परियोजनाका कार्यक्रम संयोजक पवनकुमार राईले जानकारी दिएका थिए ।