दमक :  आपराधिक गतिविधि बढ्न थालेपछि झापामा सशस्त्र प्रहरीको थप तीनवटा बोर्डर आउटपोस्ट (बिओपी) सञ्चालनमा आएको छ ।

एक कार्यक्रमका बीच झापाको गौरीगञ्ज गाउँपालिकामा दुई र कचनवकलमा एउटा बिओपी संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

गौरीगञ्ज–२ मा बिओपी लालमाटी, गौरीगञ्ज–४ मा बिओपी अल्तामारी र कचनकवल–५ मा बिओपी डागाबारी स्थापना भएको हो ।

बिओपी लालमाटीमा भएको कार्यक्रमबाट संयुक्त रूपमा तीन बिओपीको पक्की संरचनाको उद्घाटन भएको सशस्त्र प्रहरी बल नम्बर २ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले जानकारी दिए ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की, सशस्त्र प्रहरी बल नम्बर १ बराहा बाहिनीका प्रमुख प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेललगायतले संयुक्त रूपमा उद्घाटन गरे ।

Capture

योसँगै भारतसँग १४४.२ किलोमिटर सीमा जोडिएको झापामा सीमा सुरक्षाका लागि प्रस्तावित चार गुल्म र १७ बिओपी तैनाथ रहेको अर्यालले बताए । अझै विभिन्न १५ स्थानमा बिओपी निर्माणका लागि प्रस्ताव गरिएको उनले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले अन्तर्राष्ट्रिय सीमामा हुने अपराध नियन्त्रणमा सशस्त्र प्रहरी तैनाथ रहेको बताए । उनले सीमामा हुने अपराध रोक्न सके आन्तरिक अपराध न्यूनीकरणमा सहयोग पुग्ने भन्दै सीमामा सशस्त्र प्रहरीले शून्य सहनशीलता अपनाएर काम गरिरहेको जिकिर गरे ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले बिओपी निर्माण भए पनि त्यहाँ आवश्यक सामग्री नरहेकाले त्यसको व्यवस्थापनमा जुट्नुपर्ने बताए ।

बिओपी लालमाटी स्थानीय विनिता नेम्वाङ लिम्बूले दिएको सात कठ्ठा जमिनमा बनेको छ । उक्त बिओपीको पक्की भवन एक करोड ९७ लाख ७५ हजार ६४० मा निर्माण भएको हो ।

त्यस्तै, बिओपी आल्तामारी स्थानीय बबिताकुमारी साहले दिएको पाँच कठ्ठा जमिनमा बनेको छ । उक्त बिओपीको संरचना ८३ लाख ४४ हजार २५९ रुपैयाँ लागतमा बनेको हो ।

बिओपी डागाबारी स्थानीय उपेन्द्रप्रसाद आचार्यले दिएको सात कठ्ठा जग्गामा बनेको छ । उक्त बिओपी ८३ लाख ७२ हजार ७९३ रुपैयाँमा बनेको सशस्त्र प्रहरीले जनाएको छ ।

झापामा १४४.०२ किलोमिटर अन्तर्राष्ट्रिय सीमामा सानाठुला गरी ९९५ सीमास्तम्भ रहेका छन् । चारवटा प्रस्तावित सीमा सुरक्षा गुल्म र १७ वटा बिओपीले उक्त दूरीमा काम गरिरहेको र अन्य १५ वटा बिओपी स्थापनाका लागि प्रस्ताव गरिएको छ ।