बिर्तामोड–वीरता लेडी जेसीजले शुक्रवार झण्डोत्तोलन गरेको छ । बिर्तामोड–१ स्थित आफ्नै सचिवालयमा लेडी जेसीजले झण्डोत्तोलन गरेको हो । सचिवालयमा नेपालको झण्डा र वीरता लेडी जेसीजको झण्डा राखिएको छ ।
लेडी जेसीजको नयाँ कार्य समितिले आफ्नो कार्यकाल सुरुवातको पहिलो कार्यक्रमका रुपमा सचिवालयमा झण्डोत्तोलन गर्ने परम्परा छ । सन् २०२० की अध्यक्ष सुष्मा भण्डारीले झण्डोत्तोलन गर्ने परम्परा सुरु गरेकी हुन् ।
भण्डारीको कार्यकालयता हरेक नवनिर्वाचित कार्य समितिले झण्डोत्तोलन गर्दै आएको वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले बताइन् । झण्डोत्तोलनसँगै ओलीको कार्यकाल पनि प्रारम्भ भएको छ ।
एकपछि अर्काे जिम्मेवारीका बीच जेसीजमा प्रवेश गरेको पाँच वर्षमा अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएकी ओलीले आफ्नो कार्यकालमा तोकिएको समयमा कार्यक्रम सुरु गर्ने र अन्त्य गर्ने परम्परालाई स्थापित गर्ने उद्घोष गरेकी छन् ।
वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले राष्ट्रिय झण्डा राख्ने परम्पराले राष्ट्रप्रेम झल्किने बताउँदै संस्थाको गरिमा अझ धेरै बढेको बताइन् ।
कार्यक्रममा नेपाल जेसीजकी पूर्व उपाध्यक्ष स्वस्तिका आचार्य, पूर्व अध्यक्ष सुष्मा भण्डारी, निवर्तमान अध्यक्ष संगीता गिरी लगायतले नयाँ नेतृत्वलाई शुभकामना दिँदै ओलीको कार्यकाल अझै रचनात्मक र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
महासचिव मुना ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा कविता ओलीले स्वागत मन्तव्य राखेकी थिइन् भने चन्द्रकला रिजालले आस्था वाचन गरेकी थिइन््् ।
कोपिला पोखरेलले जेसीज भिजन प्रस्तुत गरेको कार्यक्रममा पूर्व अध्यक्ष क्लवकी अध्यक्ष राधा सुब्बा, पूर्व अध्यक्षहरु रजनी बजगाईं र संगीता चिमरिया लगायतको सहभागिता रहेको थियो ।