सुरुङ्गा । 

कनकाई नगरपालिकामा पहिलो पटक कला–संस्कृति तथा साहित्य महोत्सव २०८० आयोजना गरिने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा यहि फागुन १४, १५ र १६ गते तीन दिने कनकाई कला–संस्कृति तथा साहित्य महोत्सवको आयोजना गरिएको तयारी रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कंडेलले आज सुरुङ्गामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।  

समाजमा शैक्षिक चेतनाको स्तर बृद्धि, त्यहाँको कला, संस्कृति र साहित्यबाट मुखरित हुने र त्यसको प्रत्यक्ष प्रभाव शिक्षालयहरूमा पनि पर्ने भएकाले पल ह्यारिसद्वारा परिकल्पना र स्थापना भएको रोटरी इन्टरनेशनलको मूल उद्देश्यलाई आत्मसात गर्दै महोत्सवको आयोजना गरिएको अध्यक्ष कँडेलको भनाई छ । 

महोत्सवमा पहिलो दिन स्थानीय साहित्यकार, दोस्रो दिन जिल्लाका विभिन्न भागमा रहेका साहित्य सर्जक र तेस्रो दिन राष्ट्रिय स्तरमा ख्याति आर्जन गरेका एक दर्जन साहियकारहरूले  प्रस्तुति राख्ने कार्यक्रम तय भएको  कार्यक्रमका संयोजक अखिलकुमार कोइरालाले बताए । कला, संस्कृति तथा साहित्यको यात्रामा नयाँ पुस्ता अझ उचाईमा पुग्न अभिप्रेरित गर्ने उद्देश्य महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । 

WhatsApp Image 2024-02-16 at 06.14.53

महोत्सवमा स्थानीय साहित्य गोष्टी, कविता लेखन प्रशिक्षण, हास्यव्यङ्गसहित सांस्कृतिक कार्यक्रम, पुस्तक मेला, पुस्तक डोनेशन कार्यक्रम, व्यवसायिक स्टलहरूको कार्यक्रम,  कविता लेखन प्रशिक्षक प्रशिक्षण, शिक्षक एवं इच्छुक साहित्य सर्जक, जिल्ला स्तरको साहित्य गोष्टी, व्यवसायिक स्टलहरूको कार्यक्रम, शिक्षक एवं इच्छुक साहित्य सर्जकको कविता लेखन प्रशिक्षक प्रशिक्षण,  जिल्ला स्तरको साहित्य गोष्टी, १२ वर्ष उमेर समूहका विद्यार्थीको कविता वाचन कार्यक्रम, जातिय भेषभूषा प्रदर्शनसहित शान्ति तथा एकता ¥याली, राष्ट्र स्तरको साहित्य गोष्टीलगायत कार्यक्रम गरिने  रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष तथा कन्काईका सामाजिक ब्यक्तित्व कुमारमणी पोखरेलले जानकारी दिए । 

अग्रज कोमलप्रसाद पोखरेल, बुद्धदेवप्रसाद घिमिरे ‘सारस्वत’ लगायतले स्थापना गरेको कनकाई प्रतिभा प्रतिष्ठान, साहित्यको क्षेत्रमा प्रयत्न गरिरहेका पवन राजवंशी, हिम्मतबहादुर नेम्वाङलगायत कला सर्जकहरूको कलाप्रतिको समर्पण, गोकुल साहित्य प्रतिष्ठानलगायतका कला, साहित्य र संस्कृतिको क्षेत्रमा क्रियाशील विभिन्न संस्था तथा व्यक्तित्वहरू उक्त महोत्सवको प्रेरणाको स्रोत रहेको बताइएको छ । 

महोत्सव सम्पन्न गर्न अखिलकुमार कोइरालाको संयोजकत्वमा शिवकुमार कँडेल, खेमप्रसाद प्रसाई, लुबराज उप्रेती, लक्ष्मीप्रसाद उप्रेती, डिल्ली मैनाली, कुमारमणि पोखरेल, सुशीलकुमार श्रेष्ठ, टीका जमरकटेल र र दिवाकर तिवारीरहेको समिति निर्माण गरिएको छ । 

महोत्सवमा राष्ट्रियता झल्किने र संस्कृतिको प्रदर्शन गर्ने मनोरञ्जनात्मक सांंस्कृतिक कार्यक्रम पनि समावेश गरिने जनाइएको छ । महोत्सव सुरुङ्गाको पशुपति अंग्रेजी माध्यमिक विद्यालयमा आयोजना गरिने छ ।  महोत्सव सम्पन्न गर्न अनुमानित २५ लाख ४५ हजार खर्च हुने आयोजकले जनाएको छ ।