सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका  गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवराज अर्याल झापा बसाईको क्रममा उल्लेखनीय काम गरेका छन् । 

एसपी  अर्यालले  १३ महिना झापा बसाई क्रममा उलेख्य काम गरेका हुन् ।  आईजी एपीएफको प्रशंसा अवार्ड’बाट एसपी अर्याल केहि समय अघि सम्मानित समेत भएका थिए । 

२३ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा एसपी अर्याललाई आईजी एपीएफको प्रशंसा अवार्ड प्रदान गरिएको थियो ।  

एसपी अर्यालले विभिन्न कार्यदेशहरुको सम्पादन प्रभावकारी एवम् उत्कृष्ट ढङ्गबाट गरी सङ्गठनको गरिमा उच्च राख्ने कार्य गरेकोमा मुल्याङ्कन गर्दै उनलाई सो अवाड दिइएको थियो । 

२०७९ माघ १६ गतेदेखि झापा गणको जिम्मेवारी सम्हालेका एसपी अर्यालले जिल्लामा प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका लागि दक्ष र चनाखो भएर काम गरे । उनको नियमित सरुवा अन्तरगत केन्द्रिय हेडक्वार्टर सचिवालय सरुवा भएको छ । उनी एक दुई दिन भित्रै जानेछन् । 

उनले  आज नयाँ गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) कविन्द्र राईलाई स्वागत गर्दै आफू नियमित सरुवा अन्तरगत केन्द्रिय हेडक्वार्टर सचिवालय जाने बताए ।  

गणपति अर्यालले  नं.२ गण हेडक्वार्टर इन्चार्जको जिम्मेवारी  गणपति राईलाई सुम्पिएका हुन ।  संक्षिप्त स्वागत तथा बिदाई कार्यक्रममा प्रहरी उपरीक्षक अर्यालले आफ्नो १३ महिना झापा बसाइ अत्यन्तै सुखद र परिणाममुखी बनेको बताए । 

अन्य जिल्ला भन्दा झापाली नागरिक समाज, राजनीति दलका नेता र सङ्घसंस्थाका नेतृत्वदायी भूमिकामा रहनेहरू अत्यन्तै सहयोगी, रचनात्मक कार्यशैली गुण भएका कारण आफूलाई काम गर्न सहज भएको भन्दै उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई झापालीहरूलाई धन्यवाद दिएका छन् ।

सोही अवसरमा प्रहरी उपरीक्षक अर्यालले आफ्नो कार्यकाल समय अवधीमा भएका कार्यसम्पादन र प्रगति विवरण प्रस्तुत गरेका थिए । 

यस्तो छ एसपी अर्यालको कार्यसम्पादन र प्रगति विवरण

२०७९ माघ १५ गते देखि २०८० माघ मसान्त सम्म  अवैध सामान चोरी निकासी पैठारी बरामदबाट प्राप्त भएको राजस्व १३ करोड ८२ लाख ३३ हजार ५१९ रुपैयाँ रहेको विवरण प्रस्तुत गरेका छन् । सोही अवधीको अघिल्लो वर्ष ४ करोड ६३ लाख १६ हजार ६०० रहेको बताइएको छ । 


चालु आर्थिक वर्षमा १ करोड १६ लाख ८४ हजार ८५० रुपैयाँ  मूल्य बराबरको ९ वटा सवारी साधन सहित ११३८.८३ क्युफिट र ३ वटा गोलिया काठ बरामद  ।

प्रस्तावित बिओपी चमरभिट्टाको नाममा निशुल्क जग्गा प्राप्त, प्रसीसु गुल्म काँकडभिट्टाको लागि ९ कठ्ठा २ धुर जग्गा खरिदगरी भवन निर्माण कार्यको सुरुवात, प्रसीसु गुल्म भद्रपुरको लागि १० कठ्ठा जग्गा खरिदगरी भवन निर्माण कार्य सुरु, बिओपी महेशपुरको लागि थप भवन निर्माण कार्यको सुरुवात, विओपी ज्यामिरगढीको लागी एक बिघा जग्गा भोगाधिकार प्राप्त भई भवन

निर्माण कार्यको सुरुवात, सुरक्षा वेश शनिश्चरेको लागि भवन निर्माण, बिओपी आल्ताबारी, बिओपी डाँगाबारी र बिओपी लालमाटीको उद्घाटन, दशगजा सरसफाइ, १४४.०२ किलो मिटर अन्तराष्ट्रिय सीमा इलाका रहेकोमा  ३७ स्थानमा दशगजा इलाकामा गरिएको खेतीपाती हटाइएको, दशगजा क्षेत्रमा रहेका १७ वटा घरटहरा मध्ये १२ वटा  घरटहरा हटाइएको, भारतीय सुरक्षा एसएसवी र नेपालको एपिएफ बिचको समन्वय, सहकार्यमा ७ हजार ६६३ पटक संयुक्त गस्ती गरिएको प्रगति विवरणमा उल्लेख छ ।

त्यसैगरी सीमा मर्मतसंम्भार तथा रङ्गरोगन कार्य अन्तरगत नेपालतर्फबाट ३१७ वटा बिजोर नम्बरका सीमा स्तम्भहरूको मर्मतसम्भार तथा रङ्गरोगन, एसएसवीको तर्फबाट १४८ वटा जोड नम्बरका सीमा स्तम्भहरू मर्मत सम्भार रङ्गरोगन गर्ने काम भएको छ ।  सो क्रममा ७ वटा सीमा स्तम्भहरू फेला परेको बताईएको छ ।

झापा जिल्लामा डग स्क्वार्ड स्थापना, मुख्य तथा सहायक सीमा नाकाबाट आवतजावत गर्ने मानिसहरूको आवत जावत संख्या दर्ता व्यवस्था, कोशी प्रदेश नामाकरणको विषयलाई लिएर सुरु भएको पहिचानको आन्दोलन तथा अन्य विविध जातीय आन्दोलनमा जिल्लाका सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरि शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न व्यवसायिक भूमिका निर्वाह गर्न सफल भएको, सीमा सँग जोडिएको अप्रेसन गणहरू मध्येबाट सर्वोत्कृष्ट गण बन्न सफल लगायत प्रगति विवरणहरू प्रस्तुत गरिएको थियो । 

बिदाई तथा स्वागत कार्यक्रममा उपस्थित नेपाल राष्ट्रिय अनुसन्धान झापा प्रमुख प्रहरी उपरीक्षक कुलचन्द्र नेपाललाई पनि स्वागत गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बिदाई तथा स्वागत मन्तव्य राखेका थिए । 

उनले कार्यालयको भौतिक निमार्ण, सरसफाई सहितका संरचना निमार्ण र स्तर उन्नतीमा पनि धेरै काम गरेका छन् ।