झापा  :  इकोनोमिक मिडिया एशोसिएशन नेपाल इमानले आफ्नो प्रदेश समिति विस्तार गरेको छ । सञ्जीव वाग्लेको अध्यक्षतामा कोशी प्रदेशमा इमानले आफ्नो पहिलो प्रदेश कमिटी गठन गरेको हो ।

सोमबार भएको कोशी प्रदेशका सञ्चारकर्मीहरुको भेलाले वाग्लेको नेतृत्वमा १३ सदस्यीय समिति बनाएको हो । समितिको उपाध्यक्षमा टीका खतिवडा र चीना थापा, प्रमुख सचिव महासचिवमा सुरेन्द्र भण्डारी, सचिवमा कौशल निरौला, कोषाध्यक्षमा हिमाल दाहाल, सहकोषाध्यक्षमा दीपक कटुवाल चयन भएका छन् ।

 यसैगरी भेलाले सदस्यमा दमन राई, भीम चापागाँई, मदन गौतम, गणेश साम्पाङ, होमबहादुर बस्नेत र योगेशबाबु काफ्लेलाई चयन गरेको छ । भेलामा इमानका केन्द्रीय अध्यक्ष रोयल आचार्य, उपाध्यक्ष डिल्लीप्रसाद सापकोटा, महासचिव रामेश्वर कार्की, सचिव प्रकाश अर्यालको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले मिडियाहरुको विकास र त्यसका लागि स्थानीय स्रोत साधनको परिचालनलाई आफूहरुले प्राथमिकता दिएको बताए । आर्थिक विषयलाई प्रधानता दिएका सञ्चारमाध्यमहरुको संगठनको रुपमा इमानको गठन गरिएको बताउँदै सञ्चार क्षेत्रको विकासको लागि सबैसँग हातेमालो गर्ने बताए ।

 यस्तै महासचिव कार्कीले इमानको प्रदेश समितिले स्वायत्त तरिकाले काम गर्ने र धेरैभन्दा धेरै सञ्चार संस्थालाई समेट्न सुझाव दिए । उनले चाँडै नै सबै प्रदेशमा इमानको प्रदेश कमिटी विस्तार गर्ने बताए ।

उपाध्यक्ष सापकोटाले मिडियाहरु सक्षम भए भने त्यसले लोकतन्त्रको समेत सुदृढीकरण गर्ने बताए । प्रदेश समितिले प्रदेशभरिका मिडियाहरुको विकासको लागि चाँडै योजनाबद्ध काम गर्ने प्रदेश अध्यक्ष वाग्लेले बताए ।