झापा प्रहरीले चोरी गरेको मोटरसाइकल सहित एक जनालाई पाँचथरबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका घर भई बिर्तामोड नगरपालिका ६ बुटाबारीमा बस्दै आएका २७ वर्षीय योगेश भनिने बालकुमार मगर छन् । 

मोटरसाइकल चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय झापाले आज शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 


चोरिएका ८ वटा मोटरसाइकलसहित प्रहरीले मगरलाई सार्वजनिक गरेको हो ।  मोटरसाइकल चोरी गरी बेचबिखन गर्दै आएका मगरलाई पाँचथरको हिलिहाङबाट पक्राउ गरिएको झापा प्रहरी प्रमुख एसपी मिलन के.सी.ले पत्रकार सम्मेलनमा जानकारी दिए । 

प्रहरीका अनुसार झापाबाट हराएका ती मोटरसाइकल ताप्लेजुङका विभिन्न स्थानमा फेला परेका थिए ।  ताप्लेजुङस्थित मिरिङ्देन गाउँपालिका र फुङलिङ नगरपालिकाबाट चोरी भएका मोटरसाइकल बरामत भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार झापामा मोटरसाइकल चोरी गर्नेहरुले ताप्लेजुङगको कावेलीसम्म पुराईदिने र  त्यहाँबाट ताप्लेजुङका कारोवारीहरुले बुझेर विभिन्न स्थानमा विक्री गर्दै आएको अनुसन्धानमा खुलेको छ ।