झापा प्रहरीले लागु औषध (ब्राउनसुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार लागु औषध सहित गौरीगन्ज गाउँपालिका–३ का १९ वर्षीय गगन ऋषिदेव र सोही ठाउँका  २७ वर्षीय रविन पासवानलाई पक्राउ गरिएको हो । 

उनीहरु दुबैलाई प्रहरीले दमक नगरपालिका–६ बाट पक्राउ गरेको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले आज जिल्ला प्रहरी कार्यालय झापामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रहरीले १०२ ग्राम लागुऔषध ब्राउनसुगर उनीहरुको साथबाट बरामद गरेको छ । 

पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

झापा प्रहरी प्रमुख एसपी मीलन के.सी.ले सञ्चारकर्मीसंगको परिचयात्मक कार्यक्रममा नियम र कानुनभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापामा ४ दिनअघि सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी के.सी.ले  सीमा नाकामा हुने तस्करी र लागु औषध  नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको  बताए । 

जिल्ला प्रहरी कार्यालय परीसरमा शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै एसपी केसीले  आफू निष्ठाका साथ प्रहरी सेवामा लाग्ने बताए । झापाका खुला सीमा नाकाबाट हुने तस्करी नियन्त्रण गर्न लाग्ने उनको भनाइ छ ।  ‘सबैको साथ सहयोग पाए सीमा नाकामा हुने चोरी तस्करी र लागु औषध, बिभिन्न प्रकारका अपराध  पूर्ण रुपमा नियन्त्रण गर्छु’ केसीले भने, ‘मेरो पहिलो प्राथामिकता भनेकै शान्ति सुरक्षा प्रदान गरी चोरी, तस्करी नियन्त्रण गर्ने हो।’ 

झापा  जिल्ला  लागुऔषध कारोबार र बेचबिखनका हिसाबले  चुनौतीपूर्ण जिल्ला मानिन्छ ।  कारोबारी तथा प्रयोगकर्ताले  छिमेकी मुलुक भारतका बिभिन्न क्षेत्रबाट सजिलैसंग  लागुऔषध नेपाल भित्र्याउने गरेका छन् ।