धनकुटा  : बिरामी बोक्ने एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको खुलासा भएको छ । धनकुटा सागुरीगढी गांउपालिका ३ बाट मे १ च  २०३२ नम्बरको एम्बुलेन्सबाट प्रहरीले गाँजा बरामद गरेपछि यो तथ्य बाहिर आएको हो । 

उक्त एम्बुलेन्समा धनकुटाबाट सुनसरी तर्फ ल्याउँदै गरेको ५२  किलो  अवैध लागूऔषध गाँजासहित १ जनालाई आज शनिबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए ।  

इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी प्रमुख सई जीवन कार्कीको कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा एम्बुलेन्समा गांजा सहित बिराटनगर महानगरपालिका ८ बस्ने जयदेब चन्द्र चेललाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।  

एम्बुलेन्समा  गाँजा तस्करी हुने गरेको सुराकी पाएको प्रहरीले उक्त एम्बुलेन्सलाई शंका लागि चेकजाँच गर्दा उक्त परिणामको गाँजा फेला पारेको  इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी प्रमुख सई जीवन कार्कीले जानकारी दिए । एम्बुलेन्सको टुल बक्स भित्र लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो ।     

कार्कीले यस अघि पनि ठुलो परिणाम ६ सय केजी गाँजा सहित चार जनालाई पक्राउ गरेका थिए ।  सई कार्कीले  तेल बोक्ने ट्याङ्करमा उक्त परिणामको गाँजा बरामद गरेका थिए । 

प्रहरी प्रमुख कार्कीले नियमित चेकजाँचको क्रममा बिराटनगरबाट हिजो शुक्रबार धनकुटा बिरामी पु¥याएर आज फर्कदैं गरेको एम्बुलेन्सलमा  गाँजा बरामद गरिएको बताए । 

प्रहरीका अनुसार झापाको हल्दिबार १ स्थित मुक्तिघाट समाज सेवाको  एम्बुलेन्सबाट गाँजा बरामद गरिएको हो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको र उक्त एम्बुलेन्स र पक्राउ परेका ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ ।