झापाको बिर्तामोड–३ स्थित  सैनिकमोडमा फागुन १७ गतेदेखि तेस्रो सडक फुड फेस्टिवल महोत्सव हुने भएको छ । होटल व्यवसायी संघले फागुन १७ गतेदेखि चैत ७ गतेसम्म  सडक फुड फेस्टीवल आयोजना गर्ने आज संघको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । 

संघले तेस्रोपटक महोत्सव आयोजना गर्न लागेको संघकी अध्यक्ष इन्दिरा श्रेष्ठले बिर्तामोड–३ स्थित मेची आँखा अस्पतालसँग जोडिएको खाली जग्गामा फुड फेस्टीवल आयोजना गरिएको बताइन् ।

WhatsApp Image 2024-02-27 at 03.52.46 (1)

मेची आँखा अस्पतालमा उत्तरपूर्वी भारतका बिरामीसमेत आँखाजाँच र उपचारका लागि आउने गरेका छन् । उनीहरूको समेत सुविधाजनक सहभागिता रहने गरी फेस्टीवल आयोजना गरिएको हो ।

फेस्टीवलमा दैनिक स्थानीय जात जातिका खानाका परिकार, संस्कृति झल्काउने झाँकी प्रदर्शन र राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने संघको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।  गोर्खा ब्रुअरीले  फेस्टीवलको मुख्य प्रायोजन गरेको छ । 

स्थानीय जातजातिका भेषभूषा र संस्कृतिको समेत प्रचारप्रसार हुने गरी फेस्टीवल आयोजना गरिएको संघका महासचिव शिवराज पौडेलले बताए । 

आर्थिक मन्दिरका कारण व्यापार व्यवसाय संकटमा परिरहेका बेला व्यवसायीलाई राहत दिने गरी फेस्टीवल आयोजना गरिएको संघको अध्यक्ष श्रेष्ठको भनाई छ । 

फेस्टीवलमार्फत स्थानीय अर्गानिक कृषि उत्पादनलाई अधिकतम् रुपमा खपत गर्ने उद्देश्य पनि राखिएको छ । जावलाखेल गु्रप अफ इन्डस्ट्रिज प्रालिले सह प्रायोजन गरेको कार्यक्रम नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

फेस्टीभलमा सयपत्री इन्टरटेन्मेन्टले प्राविधिक सहयोग उपलब्ध गराएको छ । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती फेस्टीवलको उद्घाटन गर्ने कार्यक्रम छ । ३३ वटा स्टलहरु रहने उक्त महोत्सवमा करिब ३० लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाले अनुमान गरेको छ ।