बिर्तामोड  : दादुरा रुबेला खोप अभियान सम्बन्धी आज झापाका सञ्चारकमीहरुसँग अभूमूखिकरण गोष्ठी गरिएको छ । 

झापाको बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा सञ्चारकमीसँग दादुरा रुबेला खोप अभियान अन्तरगत  अभूमूखिकरण गोष्ठी गरिएको हो ।

विगतदेखि खोप छुट समुदाय पहिचान र खोप पूरा गर्ने, बिद्यालय, समुदाय, सरोकारवालाहरुको सहभागीतामा सहयोग र परिचालनलगायतका दायित्व पूरा गर्न झापामा फागुन १७ गतेदेखि खोप अभियान शुरु गरिने गोष्ठीमा जानकारी दिइएको छ ।

५ बर्षमुनिका बालबालिकाहरुको नियमित खोप अवस्था पहिचान गरेर छुट नियमित खोपको मात्रा समेत लगाएर पूर्ण खोप सुनिश्चित  गर्ने अभियानको लक्ष्य छ ।

दादुरा खोपको महत्व बारे समुदायमा जनचेतना अभिबृद्धि गरेर लक्षित उमेर समुहका बालबालिकालाई खोप लगाउन सहयोग पुग्ने अपेक्षाका साथ सञ्चारकर्मीसँग गोष्ठी गरिएको जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए ।

स्वास्थ्य कार्यालय झापाको आयोजनामा भएको गोष्ठीमा स्वागत तथा कार्यक्रमको उदेश्माथि प्रकाश पार्दै कार्यक्रम सञ्चालनसमेत स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले पारेका थिए । सन् २०२६ सम्ममा झापा जिल्लालाई दादुरा निवारण गरिने अभियानको लक्ष्य रहेको छ ।

कनकाई नगरपालिकाबाट फागुन १७ गते शुरु हुने अभियान चैत्र ३ गते दमक नगरपालिकामा समापन हुने अभियानले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेल, स्वास्थ्य कार्यालय झापाकी डा। संगीता शाहलगायतले अभियानका बिषयमा आ–आफ्ना भनाई राखेका थिए ।