कनकाई 

बालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान सफल पार्न झापाको कनकाई नगरपालिका लागि परेको छ । 

केही दिन अघिबाट खोप अभियान सफल पार्न नौ वटै वडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको नगरले आज मंगलबार पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । 

सर्वसाधारणलाई सो रोग सबन्धी जनचेतना जगाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिए । 

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको सभापतित्त्वमा आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले सहजीकरण गरेका थिए । 

जनस्वास्थ्य अधिकृत पाठकले खोप नलाउँदाको हानी–नोक्सानी, खोपबाट बञ्चित हुँदाको असर, खोपपछिको फाइदा लगायतका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । 

कनकाईमा पहिलो चरणमा नगरका सबै विद्यालयमा र आगामी फागुन ३० गते प्रतेक वडाका प्राथमिक स्वास्थ्य केन्द्रमा अभियान सन्चालन हुने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक अधिकारीले जानकारी गराए । 

कनकाईमा ९ महिनादेखि १५ वर्ष मुनिका ६ हजार ७ सय ५६ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले बताए ।  जसका लागि ५३ जना खोप कर्मी र १ सय ६० जना स्वयंसेविका परिचालन हुने कनकाई नगरपालिकाका सिनियर अनमी टीका दवाडीले बताइन । 

सरकारले अभियान अन्तरगत ९ महिनादेखि १५ वर्ष मुनिका ५७ लाख बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको खोप शाखाले जनाएको छ । पछिल्लो वर्ष दादुराको महामारी विभिन्न जिल्लाहरूमा फैलिएको हुँदा खोप अभियान सन्चालन गरिएको महाशाखाले जनाएको छ । 

सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गरेको हो । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिँदा एक हजार तीन सय ४९ जना सङ्क्रमित भएका थिए । खोप अभियान ७ चैतसम्म सञ्चालन हुने छ ।