झापा

सहकारी संघ–संस्थामा देखिएका समस्या तथा समाधानका उपायहरुका विषय मा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । 

झापाको भद्रपुरमा कोशी प्रदेश सहकारी रजिष्टार प्रशिक्षण कार्यालय इनरुवा, झापा जिल्ला सहकारी संघको संयुक्त आयोजना र जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा बिहीबार अन्तरक्रिया गरिएको हो । 

सहकारी रजिष्टार हरिबहादुर खत्रीको अध्यक्षतामा भएको अन्तरिक्रया कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्का रहेकी थिइन् ।

 पछिल्लो समय केही समूह र व्यक्तिहरुका कारण सहकारी अभियान धरासायी बन्दै गएको उपस्थित सहकारीकर्मीहरुले बताए । उनीहरुले सहकारी संस्था तथा कर्मचारीमाथि दैनिकजसो हुने अराजक गतिविधि बन्द गर्न सरकारसमक्ष माग अघि सारेका छन् ।

 वित्तीय संस्थामा आक्रमण गर्ने जोकोहीलाई तत्काल दण्डित गरी कानूनी दायरामा ल्याउनुपर्ने, सहकारी संस्था र कर्मचारीको सुरक्षा राज्यले गर्नुपर्ने, सहकारी संस्था, कर्मचारीको काम गर्ने वातावरण बनाउनुपर्ने, सहकारीप्रति राज्यको तीन खम्बे अर्थनीति अनुसारका कार्यक्रम लागू गर्नुपर्ने, कर्जा नतिर्ने ऋणी सदस्यलाई राज्यले दिनुपर्ने सेवासुविधाबाट राज्यले बञ्चित गर्नुपर्ने, सदस्यको बचत दुरुपयोग गर्ने सहकारी संस्था तथा सञ्चालकहरुलाई तत्काल कारबाही गरिनुपर्ने लगायतका माग सहकारीकर्मीहरुले राखेका छन् ।

 सोही कार्यक्रमका बीच प्रदेश रजिष्टार खत्रीले प्रदेशमा सहकारीको अवस्थाका प्रस्तुती दिएका थिए । झापामा ७५६ वटा सहकारीहरु सञ्चालित रहेको र जसमध्ये २६ वटा सहकारी संस्थामा समस्या देखिएको उनले बताए ।