छैटौं झापा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । अर्ना झापा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको आज आयोजकले खेल मैदान डोमालाल रंगशालामा पत्रकार सम्मेलन गर्दै जनाएको हो । 

प्रतियोगिता भोली शनिबार फागुन १९ गतेबाट सुरु हुंदैछ । गोल्डकपको फाइनल खेल  २८ गते हुनेछ ।  भोली शनिवार उद्घाटन खेल संकटा फुटवल क्लब र एपिएफ फुटवल क्लबबिच हुने छ ।  गोल्ड कपको उद्घाटन संघीय संसदका सभामुख देवराज घिमिरेले गर्ने झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले जानकारी दिए ।  

गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट निर्माणको काम सम्पन्न भएको छ ।  करीब  १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्याराफिट निर्माण गरिएको छ । मैदानलाई चिटिक्क पारिएको छ । बिर्तामोड बजार क्षेत्रमा बिभिन्न आकर्षक बत्ती जडान गरेर झिलिमिलि बनाइएको छ । आगन्तुक तथा भिआइपीकालागि आकर्षक मञ्च निमार्ण गरिएको छ । मैदानमा सुरक्षाकालागि सिसि क्यामरा जडान गरिएको छ । 

समय अवधि कम हुने भएकाले निधार्रित समयमा खेल बराबरी भए उद्घाटन खेल सडनडेथमा धकेलिने जनाइएको छ । गोल्डकपका सदस्य एवम् झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले  प्रतियोगिताभरि खेलका नियम बारे जानकारी दिंदै सो कुरा बताएका हुन् । 

सोही अवसरमा झापा गोल्ड कप डटकमको वेवसाइड पनि सार्वजनिक गरिएको थियो । प्रतियागिताभरि खेलको समाचार र प्रत्यक्ष लाइभ हेर्न सकिने गोल्डकपका अध्यक्ष बस्नेतले जानकारी दिए । 

त्यस्तै पत्रकार सम्मेलनमा गोल्ड कपका अध्यक्ष वस्नेतले उद्घाटनको अवसरमा सहारा पत्रकार उपचार कोषलाई एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 

त्यस्तै झापा ११ बाट खेल्ने पुराना खेलाडीहरुलाई समेत सम्मान गरिने उनको भनाई छ । प्रतियोगिताभरि टिकट शुल्क २००, ३०० र ४०० रुपैयाँ लाग्ने छ । सेमिफाइनल र फाइनलमा सोही टिकटमा १४० रुपैयाँको जुस उपलब्ध हुने गोल्डकपका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । 

पत्रकार सम्मेलनमा झापा गोल्ड कपका अध्यक्ष वस्नेत, वरिष्ठ उपाध्यक्ष बलराम कार्की, महासचिव गजेन्द्रबहादुर पौडेल, सदस्य भगिरथ आलेले तयारीका विषयमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन झापा गोल्ड कपका सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए ।