बिर्तामोड  ः प्रतिनिधिसभाका सभामख देवराज घिमिरेले बिर्तामोडस्थित डोमालाल रंगशालाको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 

झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा आजदेखि शुरु भएको छैटौं झापा गोल्डकप उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले दाताले दिएको जग्गा निजी बनाउने षड्यन्त्र भएकाले सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै एकजुट हुनुपर्ने बताए । 

दाताले दिएको झण्डै १४ बिघा जग्गामा चलखेल र षड्यन्त्र हुँदा बिर्तामोडको मध्य भागमा रहेको रंगशालामा पूर्वाधार विकास गर्न नसकिएको उनको भनाई थियो ।  “बर्सेनि अस्थायी प्यारापिट निर्माणमै लाखौं खर्च भइरहेको छ, सबै पार्टी, जनप्रतिनिधि, खेलप्रेमी मिलेर रंगशालाको संरक्षण गर्नुपर्छ”, उनले भने , “राम्रो रंगशाला बनाउन म पनि लागि पर्छु ।”

झापालाई खेलकुदको हबको रुपमा विकास गरेर खेलकुदको माध्यमबाट पर्यटनसँगै अर्थतन्त्रको विकासमा टेवा पुग्ने उनले  बताए ।  जनस्तरबाट सहयोग संकलन भव्य खेलकुद प्रतियोगिताको आयोजना हुनु प्रशंसनीय भएको बताउँदै उनले  झापा गोल्डकप गौरवको विषय बन्दै गएको उल्लेख गरे । 

 यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ ।

झापा गोल्डकपको विजेताले नगद रू १३ लाख पाउने छन् भने उपविजेताले नगद रू ७ लाख प्राप्त गर्नेछन् । मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकलसमेत प्रदान गरिने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो । गोल्डकप सम्पन्न गर्न रू एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।–––