अर्जुनधारा–११ स्थित सालबारीका कृषकहरुलाई कृषि औजारहरु वितरण गरिएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको मकै विकास पकेट निरन्तरता कार्यक्रम अन्र्तगत किसानलाई आज एक संक्षिप्त कार्यक्रमकाबिच औजार वितरण गरिएको हो । 

अर्जुनधारा नगरपालिका कृषि विकास शाखा र अर्जुनधारा–८स्थित शनिश्चरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको ५० प्रतिशत साझेदारीमा चार लाख रुपैयाँ बराबरको कृषि औजारहरु वितरण गरिएको संस्थाका प्रबन्धक भूमिनाथ बरालले जानकारी दिए ।

मकै छोडाउने मेसिन ६ थान, मकै रोप्ने मेसिन ६ थान, स्प्रे ट्याङकी ८ थान, मकै ड्याङ लगाउने हलो ११ थान, मकैको झार गोड्ने औजार १० थान र मल बोक्ने ठेला गाडी(व्हील बेरो) २३ थान वितरण गरिएको जनाइएको छ ।

संस्थाका अध्यक्ष भैरवबहादुर खड्काको अध्यक्षता र नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको औचित्माथि शाखा प्रमुख एञ्जिला बेडारीले प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा वडाध्यक्ष खगेन्द्र इङनाम, वडा सदस्य पूर्णबहादुर राई, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाललगायतले मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रबन्धक बरालले गरेका थिए ।

सोही कार्यक्रम अन्र्तगत यस अघि कृषकहरुलाई शाखासँगको साझेदारीमा पाँच लाख रुपैयाँ बराबरको रामपुर–१६ चार सय केजी र अलराउण्ड आठ सय ५० केजी मकैको बीउ वितरण गरिएको प्रबन्धक बरालले जानकारी दिए ।