झापा :  झापा गोल्डकपले डोमालाल राजवंशी रंगशालाका जग्गादाता डोमालाल राजवंशीको शालिक र उनको परिवारलाई घर बनाइदिने भएको छ ।

दाता डोमालाल र दाता राजवंशी परिवारलाई उपेक्षा  गरेको गुनासोसहित विभिन्न माग भएको ज्ञापनपत्र राजवंशी विकास प्रतिष्ठानले झापा गोल्डकप  आयोजक समिति र बिर्तामोड नगरपालिकालाई यसअघि बुझाएको थियो । ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरुप्रति सकारात्मक देखिएको झापा गोल्डकपले डोमालालको शालिक र घर बनाइदिने  तत्परता देखाएको हो ।

स्व. डोमालालका सन्तानका लागि झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले घर निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । जग्गादाता राजवंशी परिवारको घर बनाउनका लागि अध्यक्ष बस्नेत स्वयंले ५१ हजार  रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमा सहयोगको घोषणा गरेसँगै अन्य धेरै सहयोगी मनहरुले स्वतःस्फूर्त सहयोग गर्ने प्रतिवद्धता जनाइरहेका छन् । 

युवा व्यवसायी राजिव तेघ्रे धिमालले आफ्ना स्वर्गवासी पिता नरेशमान धिमालेको स्मृतिमा १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । यसैगरी, अर्का युवा व्यवसायी किरण श्रेष्ठ, समिल राईले पनि राजवंशी परिवारको घर बनाउनका लागि पनि २५–२५ हजार सहयोग गर्ने वचन दिएका छन् ।

अध्यक्ष बस्नेतको अभियानलाई सफल बनाउनका लागि अहिले चौतर्फी सहयोगी हातहरु अघि बढेका छन् । यसैबीच, अध्यक्ष बस्नेतकै अभियानमा जोडिदैँ सुधा कुमार र रविन श्रेष्ठले जनही ५१–५१ हजार, सञ्चारकर्मी गणेशमान र इन्द्रजित मुखियाले ११ हजार, भूमिका लिम्बूले पनि ११ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

यस्तै, राजवंशी परिवारको घर निर्माणमा लाग्ने झ्याल बिर्तामोडको क्षमादेवी युपीभीसीका गणेश पौडेलले सहयोग गर्ने वचन दिएका छन् । सहयोगीहरु अभियानमा जोडिदैँ अहिलेसम्म ७ लाख रुपैयाँ आर्थिक सहयोगको प्रतिवद्धता पूरा भएको अध्यक्ष बस्नेतले बताए । उनका अनुसार घर निर्माणमा लाग्ने १० लाखभन्दा बढी रकम संकलन गरिने छैन ।

राजवंशी समुदायको तर्फबाट समेत सहयोग जुटाउन  थालिएको राजवंशी विकास प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले जानकारी दिएका छन् । उनले  पीडितको आवाजलाई सम्बोधन गरेकोमा गोल्डकपका अध्यक्ष बस्नेत र गोल्डकप  आयोजक समितिप्रति  हार्दिक आभार व्यक्त गरेका छन् ।

   यसैबीच  गोल्डकपले हिजो स्व. डोमालालको स्केच सार्वजनिक गरेको छ । सोही स्केचका आधारमा डोमालालको शालिक निर्माण गरिने अध्यक्ष बस्नेतले बताए ।  ढिलो भएपनि  डोमालालको  सिंगमरमरको राम्रो  शालिक आफ्नो नेतृत्वमा निर्माण गरिने उनले जानकारी दिए ।

यसअघि गोल्डकप आयोजक समितिले छैटौ गोल्डकपको उद्घाटनका दिन  डोमालालको परिवारलाई १ लाख रुपैयाँ सहयोग गरेको थियो । समाजसेवी विवेक प्रसाई र संगीता प्रसाईद्वारा उपलव्ध गराइएको एक लाख नगद राजवंशी परिवारलाई प्रदान गरिएको झापा गोल्डकपका अध्यक्ष बस्नेतले बताए ।

उनले झापा गोल्डकपको बजेटबाट एक लाख रुपैयाँ सहयोग गर्न अपुग भएपछि सहयोगी खोजी गरी डोमालालका नाति भीम राजवंशीलाई प्रदान गरिएको जानकारी दिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चेक हस्तान्तरण गरेका थिए । डोमालालकी छोरी सम्पत्तिको गुजाराका लागि थप नगद सहयोग गरिने अध्यक्ष बस्नेतले जानकारी दिए ।   

यसअघि झापा गोल्डकपले जग्गादाता डोमालालको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।  गत फागुन ८ गते राजवंशी विकास प्रतिष्ठानको अगुवाईमा दाता डोमालालकी छोरी सम्पत्ति र नातिनी बुहारी ललिता राजवंशीको उपस्थितिमा झापा गोल्डकप र बिर्तामोड नगरपालिकालाई चारबुँदे ज्ञापनपत्र बुझाइएको थियो ।

ज्ञापनपत्रमा डोमालाल राजवंशीको परिवारको निम्न अबस्थाका कारण कम्तीमा पाँच लाख रुपैयाँ उपलव्ध गराउनु पर्ने, जग्गादाता डोमालाल राजवंशीको शालिक निर्माण गरिनु पर्ने , डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित गोल्डकप आयोजक समिति,संरक्षण समितिलगायतका समितिहरुमा दाता परिवारका एकजना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने र डोमालालको परिवारले चर्चेको जग्गा उनीहरुकै स्वामित्वमा हस्तान्तरण गरिनु पर्ने माग उल्लेख गरिएको थियो ।

डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिव १३ विगाह जग्गा दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालकी छोरी सम्पत्ति , नातिहरु भीम र छवि राजवंशी रंगशालाको पश्चिमपट्टि  झुप्रो बनाएर बसेका छन् । उनीहरुले मजदुरी गरी गुजारा गर्दै आएका छन् ।