भद्रपुर ।
नेपालमा सुर्ति तथा सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । आज शुक्रबार स्वास्थ्य मन्त्रालयको आयोजना तथा स्वास्थ्य कार्यालय झापाको समन्वयमा भद्रपुरमा सञ्चारकर्मी, जिल्लाका स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र सरोकारवालासंग अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बिश्वभर वर्षेनि ८० लाख मानिसको मृत्यु सूर्तिजन्य पदार्थबाट हुने गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
मन्त्रालयले १३ लाख जनाले अरुले प्रयोग गरेको धुमपान सेवनको धुवावाट ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
कार्यक्रमका सहभागीलाई सूर्तिजन्य पदार्थ निषेध गरिएका सार्वजनिक स्थल सूर्तिजन्य पदार्थ सेवनका कारण मानव शरीरका विभिन्न भागमा हुने असर, स्थानीय तहको भूमिका, सूर्तिजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने ऐन तथा व्यवस्था, प्रयोग गर्दा पाउने सजाय तथा जरिवाना हाल नेपालमा प्रयोग र असरका तथ्याङ्कका विषयमा जानकारी दिइएको थियो ।
राष्ट्रिय रोगभार प्रतिवेदन सन २०१९ का अनुसार नेपालमा बार्षिक करिव ३४ हजार मानिसको मृत्यु धुम्रपान सेवनका कारण हुने गरेको छ । सूर्तिजन्य पदार्थमा वर्षेनि १० अर्ब भन्दा बढी रुपैयाँ खर्च हुने गरेको मिश्रको भनाई छ ।
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ वरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापाका १५ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।
जहाँ मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले नेपालमा सुर्तिी तथा सूर्तिजन्य पदार्थको अवस्था र प्रगतिका विषयमा प्रकाश पारेका थिए ।
त्यस्तै नेपालमा सूर्ति तथा सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका विषयमा मन्त्रालयका स्वास्थ्य कर कोषको सचिवालयका कानून शाखा प्रमुख गोपिकृष्ण रेग्मीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाई, जिल्ला समन्वय अधिकारी सुनिल निरौला, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश वराकोटी लगायतले सुर्ति तथा सुर्तिजन्य पदार्थका बारेमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय झापाका जनस्वास्थय निरीक्षक विश्वनाथ श्रेष्ठले गरेका थिए ।