झापा  लोकप्रिय हाँस्य कलाकार महजोडीलाई सम्मान गरिने भएको छ ।  जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले यो वर्ष अग्रज कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई संयुक्त रुपमा सम्मान गर्न लागेको प्रतिष्ठानद्धारा आज सोमबार बिर्तामोड स्थित  ग्रिन फिल्ड वल्र्ड स्कुलको सभाहलमा  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।  

प्रतिष्ठानले यो वर्ष पूर्ण–टुंग स्मृति प्रतिष्ठानको सहयोगमा महजोडीलाई चैत्र ७ गते बिर्तामोडमा ‘पूर्ण–टुंग आदर्श नागरिक सम्मान २०८०’ समर्पण गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार सम्मानित आदर्श नागरिकलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसमेत प्रदान गरिने छ । 

२०५५ सालमा स्थापना भएको प्रतिष्ठानले संयोजन गरेर एक सयभन्दा बढी विद्यार्थीलाई स्तरीय र निःशुल्क शिक्षा प्रदान गर्दै आएको जनाएको छ । प्रतिष्ठानले हालै इलाममा विभिन्न विधाका प्रतिभाहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिसकेको छ । पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले गरेका थिए ।

कार्यक्रममा अग्रज सामाजिक ब्यक्तित्वहरु राजकुमार पोखरेल, मदनगोपाल सुब्बा , जितेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो ।