सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् ।

आज बिहान मेचीनगर नगरपालिका–७ सतिघट्टास्थित ९१÷१ नम्बरको सीमा स्तम्भबाट सुरु भएको उक्त यात्रामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेपाली सेनाका गणपति प्राजु बस्न्यात, सशस्त्र प्रहरी बल २ नं गणका गणपति कविन्द्र राई, नेपाल प्रहरीका प्रहरी उपरीक्षक मिलन केसीलगायत स्थानीय वडाका जनप्रतिनिधि र सीमावासी सहभागी हुनुहुन्छ ।

झापामा बाहुनडाँगीदेखि गौरीगञ्जसम्म एक सय ४४ किलोमिटर लामो सीमा क्षेत्र छ । हरेक किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा पोस्ट राखेर सीमाको निगरानी गरिरहेको छ । झापासँग अन्तर्राष्ट्रिय सीमा जोडिएको क्षेत्रलाई चार भागमा विभाजन गरी चैत महिनाभरि संयुक्त सीमा पैदल यात्रा सञ्चालन गरिने जनाइएको छ ।