दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशले स्थानिय निकायका पदाधिकारीसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । विराटगर महानगरपालिकाका प्रमूख नागेश कोईरालाको प्रमुख आतिथ्यता तथा दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशका अध्यक्ष अजितकुमार ठाकुरको अध्यक्षतामा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा सुनसरी र विराटनगर, दुहवी, इनरुवा लगायत ९ वटा स्थानिय तहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पंकज कुमार राय अधिकारीले स्वागत गरेका थिए । दृष्टि विशेषज्ञका तर्फबाट आँखा स्वास्थ्य सेवामा दृष्टि विशेषज्ञका योगदानका विषयमा अध्यक्ष ठाकुरले आफ्नो प्रस्तुती दिएका थिए । 

नेपालमा १५ सय भन्दाबढी दृष्टि विशेषज्ञ वर्तमान अवस्थामा कार्यरत रहेको र रोजगारीको ३०% दृष्टि विशेषज्ञ विदेश पलायन भएको तथ्याङ्क प्रस्तुत गर्दै देशमै उनीहरुको योग्दानको उच्च मुल्याङ्कन हुनुपर्नेमा जोड दिए ।

आँखाको उपचारमा खर्च भन्दा पनि यातायात र अन्य खर्च नै धेरै भएकाले नागरिकले उचित उपचार पाउन नसकेको अवस्थामा जनप्रतिनिधिले नागरिकको उपचारमा चासो दिनुपर्ने उनको धारणा छ ।

स्थानिय निकायमा भएको चश्मा पसलमा कस्ता जनशक्तिले चश्मा पसल संचालन गरेको, कस्तो प्रकारको चश्मा उपभोक्तालाई बिक्री वितरण भईरहेको छ भन्ने विषयमा चासो दिन आग्रह गर्दै अनुगमन गर्न आग्रह गरिएको थियो । 

औषधी व्यवस्था विभागले चश्मा तथा कन्ट्याक्ट लेन्स लगायतलाई स्वास्थ्यका उपकरण अन्तरगत राखेको तथा यसको बिक्री वितरण विशेषज्ञबाट मात्र हुनुपर्ने स्पष्ट पारेको हुँदा यस्ता विषयमा स्थानिय तहले अनुगमन गर्नुपर्ने अध्यक्ष ठाकुरको भनाई छ ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले यस्ता कार्यक्रमले आफुहरुलाई स्वास्थ्यका क्षेत्रका काम गर्न हौसला मिलेको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा नेपाल दृष्टि विशेषज्ञ संघ केन्द्रिय समितिका अध्यक्ष निरजदेव जोशी ,गोल्छा आँखा अस्पतालका संजीव यादव,सरबिन्द यादव लगायतले धारणा राखेका  थिए ।