हल्दीबारी ।  झापाको हल्दीबारी गाउँपालिकामा नागरिक अपङ्गता तथा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । 

प्रदेश प्रशिक्षण तथा अनुसन्धान परिषदको आयोजनामा तीन दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।   गाउँपालिकालाई २०८१ सालको पौष मसान्तसम्म बालमैत्री पालिका बनाउने उदेश्य सहित अभिमुखिकरण कार्यक्रम गरिएको जनाइएको छ ।  

कार्यक्रममा बालमैत्री अभियन्ता सुमन ढकालले बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरणमा प्रशिक्षण  प्रदान गरेका थिए । 

कार्यक्रममा हल्दिबारी गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउन गर्नुपर्ने पूर्व तयारी, तयारी कार्यक्रम तथा योजना छनौट, अनुगमन र बालमैत्री पालिका घोषणा गर्न चाहिने सूचक बारे उपस्थितिलाई प्रशिक्षण दिइएको थियो । 

गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु र बाल सञ्जाल अध्यक्ष पवन गिरी लगायतको  उपस्थितिरहेको थियो ।