हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकालाई खानेपानी मन्त्रालयले एउटा सवारी साधन उपलब्ध गराएको छ ।  प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) को पहलमा  मन्त्रालयले एउटा सवारी साधन उपलब्ध गराए हो । 

यस अघि पालिकाको कामका लागि भाडामा सवारीसाधन लिनुपर्ने वाध्यता थियो । तर अब आफ्नै सवारी भएसंगै यसवाट भाडा वापत हुने फजुल खर्च नियन्त्रण र नियन्त्रण हुने प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले जानकारी दिए ।

अब सवारी साधन आएसँगै पालिकाको आवश्यक योजनाहरुको अनुगमन र पालिकाको काममा समेत सहजता हुने जनाइएको छ ।  मन्त्रालयबाट उपलब्ध  सवारीसाधनको बिषयलाई लिएर सामाजिक सञ्जालमा पालिकाले सवारी साधन खरिद गरेर रकम दुरुपयोग गरेको बिरोध गरेका थिए । तर प्रमुख प्रशासकीय अधिकृत महेन्द्रका अनुसार उक्त सवारी  खरिद गरिएको होइन । मन्त्रालयले उपलब्ध गराएको उक्त सवारी मर्मत गरेर पालिकाले चलाएको हो । 

करिब एक करोड ५० लाख मूल्य बराबरको टोयटाको हाइलेस गाडी मन्त्रालयले उपलब्ध गराएको महेन्द्रले बताए । 

मन्त्रालयले उपलब्ध गराएको उक्त सवारी पालिकाकै सम्पत्ती हुने जनाइएको छ । उक्त सवारी मर्मतकालागि पालिकाले अनुमानित ७ लाख रुपैयाँ खर्च हुने जनाएको छ ।  

हल्दीबारी गाउँपालिका स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्याङ्कन कार्यबिधि २०७७  अनुसार झापाका गाउँपालिका मध्ये प्रथम र १५ वटै स्थानीय तह मध्ये तेस्रो भएको छ । 

हल्दीबारीले स्थानीय तह संस्थागत लीसा अन्तरगत ६२.५ प्रतिशत र क्षमता स्वमूल्याङ्कनतर्फ एफआरए अन्तरगत ७२ प्रतिशत ल्याउन सफल भएको पालिकाले जनाएको छ । 

त्यसैगरी झापाका १५ वटा स्थानीयतह मध्ये हल्दीबारी गाउँपालिका स्वास्थ्य सम्बन्धी कार्यक्रमको मूल्याङ्कनमा समेत प्रथम स्थान हासिल गर्न सफल भएको छ । झापाका पालिकाहरुबाट आर्थिक बर्ष २०७९÷०८० न्यूनतम सेवा मापदण्डको प्रगति मूल्याङ्कन गर्दा हल्दीबारी गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको पालिकाले जनाएको हो ।