अर्जुनधारा । झापाको अर्जुनधारामा ढाकाको कपडा बुनिरहेका महिलाहरुलाई तालिम प्रदान गरिएको छ ।  अर्जुनधारा ८ मा कार्यालय रहेको नारी चेतना समूहको आयोजना तथा टेवा नेपाल ललितपुरको आर्थिक सहयोगमा 

महिलाहरुलाई सीप प्रदान गर्नुका साथै आर्थिकरुपमा आत्मनिर्भर बन्न प्रेरित होस् भन्ने हेतुले तीन महिने एडभान्स (बृहत) तालिम प्रदान गरिएको जनाइएको छ ।  

अर्जुनधारा ७ मा शुक्रबार आयोजित समापन कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक कौशीलाल परियारले तालिमबाट स्थानीय महिला आत्मनिर्भर बन्न सकेको भन्दै प्रशंसा गरेका थिए । 

उनले तालिमबाट लिएको सीपलाई व्यावसायिकरुपमा अघि बढाउन आग्रह गर्दै यसको दीर्घकालिन व्यवस्थापनमा स्थानीय सरकार अग्रसर हुनुपर्नेमा जोड दिए । 

चुलाचौका छाडेर महिलाहरु उद्यमशील बन्नुपर्ने बताउँदै उनले सीप सिक्नेमात्र नभइ यसलाई आर्थिक पाटोसँग जोड्न सकेको खण्डमा महिलाहरु आर्थिकरुपमा पनि सवल बन्ने बताए । समूहकी अध्यक्ष पम्फा विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा ७ नम्बर वडाका जनप्रतिनिधिहरु हरिबहादुर कटुवाल, देउकुमार राई, पार्वता भट्टराई, समूहकी पूर्वअध्यक्ष मिश्रकुमारी राई, जलेश्वर सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष पुनम सुवेदी, पूर्व जनप्रतिनिधि रमेश त्रिखत्रीलगायतले आफ्ना भनाइ राखेका थिए । 

समूहकी उपाध्यक्ष डम्बरकुमारी सत्यालले स्वागत गरेको कार्यक्रममा सहभागीको तर्फबाट अमिता लिम्बूले आफ्नो अनुभव सुनाएकी थिइन् । 

तालिमकी प्रशिक्षक कल्पना राईलाई प्रशंसापत्र र सहभागीलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रमको सञ्चालन समूहकी सचिव पूर्णिमा सिटौलाले गरेकी थिइन् ।