बिर्तामोड : इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपी) प्रकाश बिष्टले लागूऔषध बेचबिखन ,चोरी तथा गुन्डागर्दी नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

भर्खरै इप्रका बिर्तामोडमा सरुवा भएर आएका बिष्टले  आज शनिबार कार्यालय परिसरमा पत्रकारहरुसङ्गको परिचयात्मक कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण समेत चुनौतीको विषय भएको बताउंदै घरेलु हिंसा, फरार अपराधी प्रक्राउ लगायतका बिषयमा मिशन बनाएर काम गर्ने बताएका हुन्  ।

झापा खुल्ला सिमा क्षेत्रका कारण लागूऔषध ओसार पसार कारण जोखिमयुक्त जिल्ला भएको बताउँदै बिष्टले  ती विषयहरु पुर्णरुपमा निर्मुल पार्न नसके पनि हदैसम्म न्यूनीकरण आफ्नो प्राथमिकतामा रहेको बताए ।

प्रदेश प्रहरी  सहित जिल्ला कार्यालयले बनाएको कार्ययोजना अन्तर्गत लागू औषधको प्रयोग तथा बेचबिखनमा न्यूनीकरण, सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि सरोकारवालाहरुसँगको समन्वयमा आफूले काम गर्ने बिष्टले प्रतिबद्धता गरेका छन् । 

प्रहरी एक्लैले केही गर्न नसक्ने बताउँदै डिएसपी बिष्टले  प्रहरी सदैव जनताको सेवामा तयार रहने भएकाले सबैको साथ र सहयोगको आवश्यकता रहने बताए । साथै उनले सञ्चारकर्मीहरुसंग समन्वय र हातेमालो गर्दै काम गर्ने बताए । कार्यक्रममा सञ्चारकर्मीले लागु औषध नियन्त्रण, मोटरसाइकल चोरी नियन्त्रण , दुर्घटना, यौनजन्य गतिविधि नियन्त्रणमा ध्यान दिन डिएसपी बिष्टलाई आग्रह गरेका छन् ।