बिर्तामोड ।

 साधक तिलक लिम्बू (अद्वैत मनोक्रान्ति) ले झापाको कनकाई ७ मा रहेको दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउन्डेसनको प्राङ्गणमा आजबाट सातदिने निराहार भू–तपस्या सुरु गरेका छन् ।  

विकासान्द फाउन्डेसन विश्व परिवारको आयोजना तथा फाउन्डेसनको समन्वयमा आज चैत १७ गते शनिबारदेखि लिम्बूले भू–तपस्या सुरु गरेका हुन् । उनले चैत २३ गते शुक्रबारसम्म  भू–तपस्या गर्ने जनाइएको छ ।  

उनी ९ फिट गहिरो ९ फिट लम्बाई र ९ फिट चौडाइको खाडलमा पुरिएर भू–तपस्यामा बसेका छन् ।  लिम्बू विकासानन्द फाउन्डेसन विश्व परिवार बराङ, पोखराका साधक, झापा कमल गाउँपालिका ७ निवासी हुन् । उनले विगत एक वर्षदेखि फक्ताङलुङ एजुकेशन फाउण्डेशनमा योग प्रशिक्षण गराउँदै आएका छन् । 

जीवन बदल्नको लागि साधनाको धेरै सशक्त आयामहरु हुने र त्यसमध्ये फक्ताङलुङमा सुरु गरिएको  भू–तपस्या महत्त्वपूर्ण आयाम हुने लिम्बुले दाबी गरे । 

विकाशानन्द फाउण्डेशन विश्व परिवार बराङ पोखरामा योग साधना सिकेका लिम्बूले मानव जातिप्रति समर्पित आध्यात्मिक सन्देश ‘संसारलाई बदल्नु छ, शुरु आफैबाट गर्नु छ’ भन्ने मनोक्रान्ति अभियानको नारालाई जन मानसमा पुर्याउने उद्देश्यले भू–तपस्या सुरु गरेको जानकारी दिए । 

विश्वासका लागि भू–तपस्यास्थलमा सिसी क्यामेराको व्यवस्था गरिएको छ ।   मनोक्रान्तिको द्रष्टा एवम् गुरु डा योगी विकासानन्द झापा र भारतको सिलिगुडीमा मोटिभेशनल कक्षा तथा हिप्नोसिस सेमिनार सञ्चालन गर्न चैत २० गते साताव्यापी भ्रमणमा झापा आइपुग्ने र सोही क्रममा भू–तपस्वी तिलक लिम्बूलाई चैत २३ गते जुस पिलाएर निराहार भू–तपस्याबाट बाहिर निकाल्ने कार्यक्रम रहेको संयोजक भू–तपस्वी गजेन्द्रराज नेम्वाङले जानकारी दिएका छन् । 

लिम्बूको भू–तपस्या सम्पन्न भएपछि त्यसको औचित्य, आवश्यकता, जीवन र जगतको रूपान्तरण विषयमा डा. विकाशानन्दले विशेष प्रवचन दिने फक्ताङलुङ एजुकेशनका संस्थापक, प्रिन्सिपल तथा मनोक्रान्ति साधक ओमबिक्रम नेम्वाङले जानकारी दिए । लिम्बुको तपस्यालाई फक्ताङ्लुङ एजुकेशनले सहयोग र सहजीकरण गरिरहेको नेम्वाङले बताएका छन् ।