झापा  : पत्रकारको उपचारमा सहयोग गर्ने दातालाई सम्मान गरिएको छ । कोष बृद्धिका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई आज बिर्तामोडमा भब्य एक समारोहका बिच पनि नेपाल पत्रकार महासंघ झापा शाखाले सम्मान गरेको हो । 

महासंघ झापाले देशमै पहिलो पटक १ करोड राशीको कोष खडा गर्न सफल भएको हो ।   महासंघ झापाको अगुवाईमा ‘पत्रकार–सहारा उपचार कोष’ नामाकरण सहित आठ वर्ष अघि कोष निर्माणको अभियान थालिएको थियो ।

आज कार्यक्रमका प्रमुख अतिथि गणतन्त्रका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कोषमा एक करोड पुगेको घोषणा गरे । उनी सहित महासंघ केन्द्रका अध्यक्ष बिपुल पोखरेल, झापा अध्यक्ष एक राज गिरीले कोष बृद्धिका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मानपत्रद्धारा  सम्मान गरेका हुन् । 

पत्रकार महासंघ झापाका तत्कालिन अध्यक्ष भीम नेम्वाङको कार्यकालमा २०७३ पुस १६ गते पत्रकार–सहारा उपचार कोषको अवधारणा शुरु भएको थियो ।

2 pic saman

 तत्कालिन समयमा पत्रकार महासंघको कोषबाट चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको ५ लाख सहित जम्मा ९ लाखवाट शुरु भएको कोष आठ वर्षमा करोड पुर्याइएको पत्रकार महासंघका अध्यक्ष एकराज गिरीले समारोहमा जानकारी  दिए । 

नेम्वाङपछिका अध्यक्ष तारामणि सापकोटाले पनि कोष निर्माणका लागि आर्थिक संकलन अभियान गरेका थिए ।

गिरी अध्यक्ष भएपछि कोषका लागि आक्रामक ढंगवाट अभियान शुरु गरी तीन वर्ष भित्रै ६० लाख वढी रकम जुटाइएको हो । 

गिरीका अनुसार कोषमा पत्रकारहरुले जनही तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम दाताहरुवाट जुटेको हो । समाचार संकलनको क्रममा हुने दुर्घटना र रोग लागेर बिरामी हुने झापाका पत्रकारहरुलाई कोषको व्याजवाट आउने रकम नगदै उपलव्ध गराइंदै आएको महासंघले जनाएको छ । 

कार्यक्रममा प्रमुख अतिथि डा. यादब, कोष स्थापनाका  सल्लाहकार सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, कोशी प्रदशेका पुर्व मुख्य मन्त्री हिक्मत कार्की, उद्धब थापा, महासंघका अध्यक्ष बिपुल पोखरेल लगायतले शुभकामना राखेका थिए । 

महासंघका सचिव डिकेश लामाले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष केशब भट्टराईले गरेका थिए ।