सुरुङ्गा ।

जामुनवारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनवारी सिमसार पर्यटकीय क्षेत्रको बैशाख ६ गते हुने निर्वाचनमा स्वतन्त्र प्यानललाई जिताउन कनकाई स्वतन्त्र गणतान्त्रिक समुहले सबै उपभोक्तालाई आग्रह गरेको छ । 

मंगलबार (आज) स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवार बनेका पर्शुराम गिरी नेतृत्वको प्यानललाई अत्याधिक मतले बिजयी गराउन कनकाई स्वतन्त्र गणतान्त्रिक समुहका संयोजक चन्द्र मैनाली (भतिज) ,संरक्षक शेरबहादुर थापा, भिमप्रसाद अधिकारी लगायतले वन उपभोक्तालाई आग्रह गरेका हुन् ।

जामुनवारी चोकमा आयोजित कोणसभामा उनीहरुले सामुदायिक बनको बिकास र समृद्धिका लागि स्वतन्त्र प्यानलको जित अनिर्वाय रहेको बताएका हुन् ।  पुराना दलहरुबाट जनतामा नीरासा छाएको बताउंदै उनीहरुले स्वतन्त्रको विकल्प नरहेको बताएका हुन् । 

20240416_123644

 नेपालकै सवैभन्दा पहिलो सामुदायिक बनको रुपमा दर्ता भएको पर्यटकीय जामुनवारीको जुन हिसावमा बिकास हुनु पर्ने भए पनि  त्यो हुन नसकेको बताउँदै कनकाई स्वतन्त्र गणतान्त्रिक समुहका संरक्षक शेरबहादुर थापाले दैनिक हजारौ पर्यटक भित्र्याएर लाखौं आम्दानी गर्न सकिने भए पनि त्यस्तो नभएको बताए ।  

 यस अघिको नेतृत्वले काम गर्न नसकेको बताउंदै  गिरी नेतृत्वको टिमले समग्र रुपमा सीमसारको विकास गर्न सक्ने भएका कारण  अनुभवी गिरीको प्यानलाई मतदान गर्न संयोजक थापाले आग्रह गरे । 

 २०५२ सालदेखि संस्थापक सदस्य रहेर काम गरेका गिरीले  २०५८ देखि ०७५ सालसम्म १७ बर्ष ३ महिना अध्यक्ष पदमा रहेर उल्लेखनीय काम गरिसकेका छन् । 

उनले आफु नेतृत्वमा रहँदा देशका २२ हजार सामुदायिक बन मध्ये उत्कृष्ट बनका रुपमा गणेशमान सिंह सामुदायिक बन राष्ट्रिय पुरस्कारसमेत प्राप्त गर्न सफल भएको बताएका छन् । 

नेपालकै नम्बर १ मा रहेको उत्कृष्ट सामुदायिक बन जामुनवारी पछिल्लो समय कोभिड महामारी तथा अन्य बिबिध कारणले  सिथिल हुँदै गएको गिरीले बताए । उनले सिथिल बन्दै गएको पर्यटकीय क्षेत्रलाई माथि उठाउन आफुसँग भएको लामो समयको अनुभवलाई प्रयोग गरेर  काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

गिरीको नेतृत्वमा उपाध्यक्षमा चन्द्रा बुढाथोकी, सचिवमा दीपक ओली, सदस्यहरुमा राधा कार्की, तेजबहादुर थापा, कृष्णप्रसाद गिरी चुनावी मैदानमा होमिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका कनकाई २ का अध्यक्ष पुष्पराज गिरीको अध्यक्षतामा भएको कोण सभामा संस्थापक अध्यक्ष केदार गिरी, समुहका संरक्षक तथा सुरुङ्गा खानेपानीका अध्यक्ष भीमप्रसाद अधिकारी, रास्वपा कनकाई सदस्य गोपाल उप्रेतीलगायले गिरी नेतृत्वको प्यानललाई जिताउन आग्रह गरेका छन् । कार्यक्रमको सञ्चालन दिनानाथ खतिवडाले गरेका थिए ।

अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एकसहित १४ जना निर्वाचित र एक जना सदस्य मनोनित हुने कार्य समितिका लागि निर्वाचन हुन लागेको समितिमा ६ जना सदस्य सर्वसम्मत निर्वाचित भइसकेका भएपनि आधिकारिक घोषणा भने गरिएको छैन ।

पर्शुराम गिरीको नेतृत्व, सिता अधिकारीको नेतृत्व र बुद्धिमान बोहाराको नेतृत्वमा प्यानल खडा गरी उम्मेद्वारले चुनावी प्रचारप्रसारलाई तिब्र बनाएका छन् ।

झापाको कनकाई नगरपालिका २ र १ मा रहेको सामुदायिक बनको निर्वाचनमा  बनको ५ वटा क्षेत्र रहेको र ८ सय ५१ उपभोक्ता मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।