बिर्तामोड : झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले प्रविधि र सूचना प्रणालीलाई विस्तार गरेको छ ।
संस्थामा वेभ मा आधारित भौगोलिक सूचना तथा सम्पत्ति व्यवस्थापन र सुपरिवेक्षण प्रणाली (जीआइएस) लागू भएको हो । दियालो टेक्नोलोजी प्रालिले तयार गरेको सो सफ्टवेयर कार्यक्रममा हस्तान्तरण गरिएको हो । दियालो टेक्नोलोजीका प्रबन्धक रोषन गौतम र जन सम्पर्क अधिकारी उत्तम खड्काले संस्थाका अध्यक्ष मेघराज बास्तोला, सल्लाहकार हर्कलाला गिरी लगायत संस्थाका पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
जीआइएस प्रणाली मार्फत मिटर रिडिङका लागि एन्ड्रोइड मोबाइल एप्लिकेसन मिटरमार्क, बिलिङ व्यवस्थापन, सूचना र सञ्चारको लागि एसएमएस प्रणाली, अनलाइन प्रणाली बाट खानेपानी को महसुल भुक्तानी, बित्तीय लेखा, जिन्सी व्यवस्थापन, ग्राहक सेवा व्यवस्थापन, ग्राहकका लागि स्वमिटर रिटिङ लगायतका सेवा अनलाइन मार्फत हुने दियालो टेक्नोलोजीका रोशन गौतमले आयोजित कार्यक्रमममा जानकारी दिए ।
संस्थाका अध्यक्ष मेघराज बास्तोलाले संस्थालाई प्रविधीयुक्त बनाउन साधारणसभाबाटै निर्णय गरेर जी आईएस प्रणाली लागू गरिएको बताए । त्यस्तै अध्यक्ष बांस्तोलाले अब बिर्तामोड खानेपानीको छुट्टै मोबाइल एप्लिकेसन भएको जनाएका छन् । उनका अनुसार सो एप्समार्फत डिजिटल नक्साबारे सम्पूर्ण जानकारी, नेभिगेसन एप्सका कारण मिटर रिडर, प्लम्बरसहित ग्राहकको घर पत्ता लगाउनेदेखि सम्पूर्ण निरीक्षण गर्न सकिने छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौला, कोषाध्य सारदा रिजाल लगायतको आतिथ्य रहेको कार्यक्रमको संचालन सचिव पारशमणि मैनालीले सञ्चालन गरेका थिए ।
त्यस्तै, संस्थाको सम्पत्ति विवरण, रिपोर्टिङ, सुपरीवेक्षण, मूल्यांकन, पानीको महशुल निर्धारण, भविष्यको योजना, गुनासो र बक्यौता व्यवस्थापन लगायत सम्पूर्ण जानकारी एप्समै उपलब्ध हुने संस्थाका व्यवस्थापक खड्ग गिरीले बताए ।
नेपालकै उत्कृष्ट खानेपानी संस्था बन्न सफल बिर्तामोड खानेपानीमा १० हजार बढी उपभोक्ता रहेका छन् ।