झापा ।  पूर्वी नाका कांकरभिट्टाबाट  भन्सार छलेर भित्राइएको ठुलो परिणामको  लत्ताकपडा बरामद भएको छ ।  इप्रका कांकरभीट्टाका डीएसपी मीमबहादुर लामा , सशस्त्र प्रहरी बल प्रस्ताबित सीमा सुरक्षा गुल्मका डीएसपी राजनलाल श्रेष्ठ तथा मेची भन्सार कार्यालयका रामहरी कार्की नेतृत्वको संयुक्त टोलीले आज मंगलबार बिहान ७ बजेको समय ५१ पोका कपडा बरामद गरेको हो । 

विशेष सूचनाको आधारमा संयुक्त टोलीले मेचीनगर–७ गैरीगाउँबाट २२ बोरा  र मेचीनगर–६ सालघारीको तीन ठाउँबाट २९ बोरा गरी करिब ३८ लाख ४८ हजार ४७० रुपैयाँ मुल्य बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ । 

गैरीगाउँ र सालघारीमा ठुलो मात्रा भन्सार छलेर कपडा भित्राइएको सूचना पाए लगतै संयुक्त टोली सोमबार राती साढे ९ बजेदेखि सो क्षेत्रमा खटिएको थियो ।  

सीमा क्षेत्र, मकैवारि र एउटा घरबाट सो परिमाणका कपडा फेला परेको थियो । भन्सार छलेर ल्याइएका  दुवै स्थानका सामानलाई प्रहरीले  रातभरि  सुरक्षा दिएर बसेको र आज बिहान नियन्त्रणमा लिएको जनाइएको छ । 

बरामद गरिएकोमा सामानमा कुर्ती, कुर्ता सुरुवाल, भेष्ट, पेन्टी, पाइन्ट, म्याक्सी, सटको थान कपडा, लुंगी, तन्ना, सुती साडी, गन्जी, ब्लाउज, पेटिकोट लगायतको रहेको छ । 

बरामद गरिएका सामान कसको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि आजै कांकरभिट्टा स्थित मेची भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।