शनिश्चरे । 

झापाको अर्जुनधारामा रहेका मेलमिलापकर्ताहरुलाई तीन दिवसीय एड्भान्स लेखनसीप तालिम दिइएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना र इजलास मिडियाको सहजीकरणमा मेलमिलापकर्तालाई तालिम दिइएको हो । 

मेलमिलापकर्ताहरुको लागि आयोजना गरिएको एड्भान्स तालिममा अधिवक्ता वसन्त नेपाल र अर्जुनधारा नगरपालिकाकी कानुन अधिकृत आकृति निरौलाले सहजीकरण गरेका थिए ।

गाउँघरमा गरिने लिखतका सन्दर्भमा अधिवक्ता नेपालले अभ्याससहित दुई दिन सहजीकरण गरेका थिए भने कानुन अधिकृत निरौलाले लिखतमा ध्यान दिनुपर्ने कानुनी पक्षहरु र नगरको न्यायिक सेवाको बारेमा सहजीकरण गरेकी हुन् । आइतबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले एड्भान्स लेखनसीपबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे ।

उनले आआफ्नो वडामा आम नागरिकलाई नै सहयोग पुगोस् भन्ने उद्देश्यले मेलमिलापकर्तालाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको बताए ।

समापन कार्यक्रममा बोल्दै न्यायिक समिति सदस्य टुम्मनाथ काफ्लेले लेखनसीप कार्यक्रम उपलब्धीमुलक भएको बताए । उनले सानातिना निवेदन लेख्न पनि प्राविधिक कठिनाई हुने गरेको बताउँदै आवश्यक पर्ने लिखत लेखनका लागि तालिमले ठुलो सहयोग पुगेको बताए ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट कृष्णप्रसाद चापागाई र इन्दिरा भट्टराईले लेखनसीप तालिमको अनुभव सुनाएका थिए । निवेदनदेखि वैनाबट्टा कागज लेख्न, सहमति, मिलापत्र लेखनसँगै कानुनी ज्ञान प्राप्त गरेको उनीहरुको अनुभव थियो । तालिममा ३५ जना मेलमिलापकर्ताको सहभागिता रहेको थियो ।

सहजीकरण गर्ने संस्थाका सञ्चालक प्रदीप परियारको अध्यक्षतामा भएको समापन कार्यक्रममा न्यायिक शाखाको कर्मचारी माया ऐर, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीलगायतको उपस्थिति रहेको थियो ।