बिर्तामोड :  

झापाको बिर्तामोडमा  एक बेवारिसे शव भेटिएको छ । बिर्तामोड ४ मा परालको थुप्रोमा बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ । इप्रका बिर्तामोडका अनुसार बिर्तामोड ३ को आदर्श चोकदेखि उत्तर जाने ग्राभेल सडकको पश्चिमपट्टि खेतको बीचमा रहेको परालको थुप्रोमा अन्दाजी वर्ष ५५–६० का व्यक्तिको बेवारिसे शव आज दिउँसो भेटिएको हो ।

शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मागिखाई हिँड्ने व्यक्ति मृत भेटिएको स्थानीयले बताएका छन् । मृतक बिर्तामोड ६ का कुर्मी थरका व्यक्ति भएको बताइए पनि त्यहाँ गएर बुझ्दा पुष्टि नभएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले बताए ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले जानकारी दिएका छन् । बिरामी रहेका ती व्यक्तिको अत्यधिक गर्मीका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।