झापाको बिर्तामोड नगरपालिका ४ कालिका टोल निवासी विष्णुमाया बिष्टको हत्या भएको १४ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन । 

घरमा एक्लै भएको अवस्थामा ६६ वर्षीया बिष्ट गत बैशाख २६ गते बुधबार राति मृत अवस्थामा फेला परेकी थिइन । उनको खन्तीले हानेर हत्या गरिएको प्रहरीले सोहि समय पुष्टि गरेको थियो । 

हत्या भएको दिन बिहानै देखि अनुसन्धान जारी राखेको बताउने प्रहरीले हत्यारा अझै पत्ता लगाउन सकेको छैन । प्रहरीका अनुसार मृतकको शव भुइँमा रगत्याम्म अवस्थामा कोल्टे परेको अवस्थामा फेला परेको थियो । 

प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट कुकुर समेत मगाएको थियो ।  कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही संकेत दिए पनि लिटल फ्लावर बोडिङ दक्षिण पुगेपछि अल्मलिएको थियो । 

प्रहरीले हाल सम्म बिभिन्न ब्यक्तिहरुलाई बयान तथा सोधपुछ गरेको जनाइएको छ । झापाका प्रहरी प्रमुख मिलन केसीले घटनाको बिषयमा गहिरो अनुसन्धान भइरहेको बताए । उनले घटनामा ११ जना प्रहरीहरु अनुसन्धानमा खटिरहेको जानकारी दिए ।

सिआइबीको टोली, प्रदेशटोली, जिल्ला प्रहरी र इप्रका अनारमनीको प्रहरीको टोलीले संयुक्त अनुसन्धान गरिरहेको बताए ।  एसपी केसीले घटनामा  संमलग्नका बिषयमा अहिले नै यसै हो भन्न नसकिने बताए । घटना स्थलबाट केहि प्रमाण पनि बरामद गरेको प्रहरी स्रोतले जनाएको छ । 

प्रहरी स्रोतका अनुसार केहि ब्यक्तिहरुलाई शंकाको घेरामा राखेर अनुसन्धान भइरहेको छ ।  प्रहरीले घटनास्थल आसपास र केहि क्षेत्रमा बसेर घटनाको अनुसन्धान गरिरहेको बताए पनि कुनै सुराक फेला पार्न सकेको छैन ।

घटनाको १४ औं दिन बितिसक्दा पनि अपराधीको पहिचानमा एकातीर सकस भइरहेको छ भने हत्या कसले, किन ग¥यो भन्ने  रहस्य खुल्न नसक्दा यसले बिर्तामोडबासीमा त्रास उत्पन्न भएको छ ।   

यता घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।