झापा । झापाको बिर्तामोड ४ स्थित कालिकाटोल  निवासी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

२१ दिनपछि बिष्टको हत्यामा  संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका २१ बर्षीय गंगा राजवंशी  र २७ बर्षीय महेश राजवंशीलाई  पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । घटनाका बिषयमा भोली सबै थाहा हुने बिर्तामोडका डीएसपी प्रकाश बिष्टले बताए । उनले घटनाका बिषयमा बताउन चाहेनन् । 

त्यसबारे जानकारी दिन भोलि पत्रकार सम्मेलन गरिने जनाइएको छ । पक्राउ परेकाले हत्या गरेको स्विकार गरेको प्रहरी स्रोतको भनाई छ । उनीहरु मृतक बिष्टको छीमेकी हुन् । 

गत वैशाख २६ गते झापाको बिर्तामोड ४ स्थित कालिकानगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो । उनको खन्तीले हानेर हत्या गरिएको थियो । 

हत्याराको खोजीका लागि प्रहरीको चार वटा टोली लगातार खटिएका थिए ।  घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बिर्तामोडको गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका थिए । 

प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो । 

पक्राउ परेका गंगा पटक –पटक प्रहरी हिरासतमा परेका ब्यक्ति हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको साथबाट मृतक बिष्टको सुनको चुरा, सिक्री, कानको टप, जन्तर लगायत बरामद गरेका छन् । राजवंशीले कलको छेउमा उक्त सुन माटोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो ।