झापा । प्रेम सम्बन्धमा खटपट भएका कारण भद्रपुरकी एक किशोरीमाथि धारिलो हतियार दाउ प्रहार भएको छ ।  भद्रपुर नगरपालिका  ९ घोडामारास्थित शान्तिटोल निवासी १७ वर्षीया श्रेया राईमाथि भद्रपुर ६ भानुभोक निवासी १८ वर्षीय अभिषेक कर्णले शुक्रबार बिहान पौने ११ बजे दाउ प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते श्रेयाको टाउको र दुवै हातमा गम्भीर चोट लागेको छ । उनको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । घोडामारा प्रहरी चौकीले दाउ प्रहार गर्ने अभिषेकलाई घटनास्थलबाटै पक्राउ गरी प्रहरी कार्यालय झापामा ल्याएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए । प्रहरीका अनुसार श्रेया एसएस निकेतन अङ्ग्रेजी माविमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् ।

विद्यालयबाट कक्षा ११ को वार्षिक परीक्षा दिएर श्रेया स्कुल बस चढेर उनी घर फर्किएकी थिइन्  । बसबाट ओर्लिएर घरतर्फ हिँडेर जाँदै गरेकी श्रेयामाथि अभिषेकले बाटो छेकेर एक्कासि दाउ प्रहार गरेका थिए । पक्राउ पश्चात् अभिषेकले श्रेया मेरी प्रेमिका हो र प्रेम सम्बन्धमा विवाद बढेपछि दाउ प्रहार गरेको प्रहरी समक्ष बयान दिएको जनाइएको छ ।